औषधि विभागद्वारा कोरोनाको उपचारमा प्रयोग गरिने ‘रेम्डेसिभिर’ आयात गर्न अनुमति
कोरोनाको जटिल बिरामीको उपचारका लागि प्रयोग हुने रेम्डेसिभिर औषधि आयात गर्न औषधि व्यवस्था विभागले अनुमति दिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीका लागि प्रयोग हुने भनिएको औषधि ‘रेमडिसिभिर’ क्लिनिकल ट्रायल अध्ययनका लागि आयातको अनुमति दिन औषधि व्यवस्था विभागलाई शनिबार पत्राचार गरेको थियो ।
सोही अनुसार विभागले रेम्डेसिभिर औषधि आयात गर्न अनुमति दिएको हो ।विभागका महानिर्देशक डा। नारायण ढकालले अहिले क्लिनिकल अध्ययनअन्तर्गत राखेर बिरामीलाई दिने र स्वास्थ्य अनुसन्धान परिषद ( एनएचआरसी) को प्रोटोकल अनुसार प्रयोग गरिने बताए ।
उनले सिप्ला, माइलन र हिटेरो कम्पनीबाट उत्पादन भएका रेम्डेसिभिर औषधि मात्र आयात गर्न सकिने जानकारी दिए ।
यसै साताको अन्त्यसम्ममा उक्त औषधि व्यवसायीहरुले ल्याउने जानकारी आएको विभागले जनाएको छ ।
यी कम्पनीका पहिलो चरणमा २-२ हजार परिमाणमा ल्याउँदा ६ हजार भायल आउँछन । कोरोनाका लागि तोकिएका अस्पतालमामा रहेका बिरामीहरुलाई दिएर क्लिनिकल अध्ययन गर्न लगाउने उनले बताए ।
उनका अनुसार औषधि ऐन २०३५ बमोजिम कुनै पनि नयाँ औषधि क्लिनिकल ट्रायलु गर्न विभागको स्वीकृति लिनुपर्छ ।
उनले भने, “अहिले रेम्डेसिभिर औषधि ल्याउछौँ भनेर आवेदन आइरहेको छ तर रेम्डेसिभिरको गुणस्तर र मूल्य हेरेर आवश्यकता अनुसार थपिनेछ ।”
औषधि ऐनको दफा ३१ मा भनिएको छ, “कसैले कुनै नयाँ औषधिको क्लिनिकल ट्रायल गर्न चाहेमा सो कामको लागि विभागबाट तोकिएबमोजिम अनुमतिपत्र लिनुपर्नेछ ।”
रेम्डेसिभिर कुनै स्थायी रुपमा दर्ता नभएको औषधी रहेको उनले जानकारी दिए । उनका अनुसार अनुसन्धानको लागि ल्याउने औषधिलाई अनुमति दिने प्रक्रियाको लागि समय लागेको हो ।
रेम्डेसिभिर कोरोना जटिल बिरामीमा प्रयोग गर्न बिरामी तथा बिरामीको आफन्तको मन्जुरीमा मात्र प्रयोग गर्न मिल्ने औषधि भएको उनी बताउँछन् ।
“अन्य औषधिमा मन्जुरी नभए पनि हुन्छ तर रेम्डेसिभिर औषधी बिरामी वा बिरामीको आफन्तको मन्जुरीमा प्रयोग गर्नुपर्नेछ,” उनले भने, “रेम्डेसिभिर औषधी जथाभावी प्रयोग गर्न मिल्ने औषधि भने होइन् ।”
यसैगरी औषधि विज्ञ बाबुराम हुमागाईं अनुसार कोरोना संक्रमितक उपचारका लागि प्रयोग भइरहको कुनै पनि औषधि हालसम्म कोरोनाको औषधि यकिन भइ नसकेको अवस्थामा जटिल बिरामीका लागि ‘रेम्डेसिभिर औषधी प्रयोग गर्ने गरेको देखिन्छ ।
नेपालको प्रोटोलकलमा पनि रेम्डेसिभिर प्रयोग गर्न सकिने मात्र भनिएको छ । तर, कुन अवस्थामा प्रयोग गरिने नभनिएको उनले बताए ।
उनका अनुसार कोरोनाका जटिल अवस्थामा पुगेका बिरामीलाई अब के प्रयोग गर्ने त, कुनै औषधी छैनन्, यस औषधीलाई विभिन्न देशहरुले केही प्रमाणको आधारमा हाम्रा देशका आईसीयू र भेन्टिलेटरमा पुगेका बिरामीका लागि पनि ठिक हुन सक्छ भनेर प्रयोग गरे बिरामीलाई सुधार भयो भनेर प्रयोग गरेका विभिन्न अध्ययनहरुले देखाएको छ ।
तर, शतप्रतिशत कोरोनाको बिरामीका लागि प्रयोग गर्न मिल्ने भनेर प्रमाणित भएको औषधि भने होइन ।
अस्पतालका चिकित्सक डा- सन्तकुमार दासका अनुसार रेम्डेसिभिरु औषधि आईसीयूमा भर्ना भइ अक्जिसनको कमी भएका बिरामीका लागि प्रयोग गरिन्छ ।
नेपालमा आफ्नै खर्चमा दुई साताअघि विराटनगरका एक चिकित्सकलाई प्रयोग गरिएको थियो । ती चिकित्सक त्रिवि शिक्षण अस्पतालको आईसीयूमा स्वास्थ्य अवस्था जटिल बनेपछि प्रयोग भएको अस्पतालले जनाएको थियो ।
अमेरिकाको जिलिड फर्माले उत्पादन गरेको रेम्डेसिभिर अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले कोभिड-१९ का संक्रमितमा प्रभावकारिता अध्ययन गर्न स्वीकृति दिएको छ ।
सोही अनुसार विभिन्न देशहरुले यो औषधि प्रभावकारी रुपमा काम गरेको भन्दै प्रयोग गर्दै आएका विभिन्न अध्ययनहरुले देखाएको छ । सन् २०१४ मा रेम्डेसिभिर एन्टिभाइरल इबोलाका बिरामीमा प्रयोग भएको थियो ।