Logo
२० कार्तिक २०८१, मंगलबार
(August 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिन्धुपाल्चोक पहिरो : १८ जनाको शव भेटियो, मृतकका परिवारले  १ लाख पाउने

सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ ।

यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो ।

यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रहरी कार्यालयका अनुसार शनिबार स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वर्षीया च्यामा दोङ, ११ वर्षीया विमला दोङ र सातमहिने कबिर दोङको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो ।

लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३५ घर पुरिएका थिए । घरसँगै ३९ जना बेपत्ता भएका थिए । पहिरोमा बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

ज्यान गुमाएकाका परिवारले  १ लाख पाउने

विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई १ लाखको दरले राहत रकम र काजकिरियाका लागि परिवारलाई तत्काल २५ हजार उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

यस्तै दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय भएको छ ।

एक लाख २५ हजार आर्थिक सहयोग

जुगल-२ लिदीका पहिरोपीडितका लागि तामाङ कलाकार सङ्घले एक लाख २५ हजार आर्थिक सहयोग गरेको छ ।

सङ्घले शनिबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

सङ्घको तर्फबाट रु एक लाख र व्यवसायी पूर्ण लिम्बूबाट रु २५ हजार सहयोग गरिएको सङ्घका अध्यक्ष सञ्जीव वाइबाले जानकारी दिए ।

प्रकाशित मिति: Aug 16, 2020

प्रतिक्रिया दिनुहोस्