Logo
६ आश्विन २०८१, आईतबार
(August 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली-मोदीबीचको फोन संवादमा के-के भयो ? यस्तो छ, दुई देशले निकालेको विज्ञप्ती

नेपाल र भारतबीच सीमा विवाद चुलिएपछि संवादहीनताको अवस्थामा रहेका नेपाल र भारतका प्रधानमन्त्रीबीच शनिबार वार्ता भएको छ।

सीमा विवादसँगै दुई देशका शीर्ष नेतृत्वबीच सम्वाद हुन सकेको थिएन । परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्ने नेपालको प्रस्ताव समेत भारतले स्वीकार गरेको थिएन ।

तर ७४ औं स्वतन्त्रता दिवसको अवसरमा दुई देशका प्रधानमन्त्रीस्तरमा टेलिफोन सम्वाद भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार फोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले भारतको स्वतन्त्रता दिवसको अवसरमा बधाई दिनुका साथै निरन्तर प्रगतिको शुभकामना दिएका छन् । उनले १० अप्रिल २०२० मा भएको सम्वाद स्मरण गरेका थिए ।

प्रधानमन्त्री ओलीले मोदीको छिमेक प्राथमिकता नीतिको प्रशंसा गर्दै सार्थक द्वीपक्षीय सहयोगका लागि नेपाल तत्पर रहेको बताएको मन्त्रालयले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसरमा बधाई दिएका उल्लेख छ।

‘उहाँले भारतले हालसालै राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यता प्राप्त गरेकामा पनि बधाई दिनुभयो,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा छ।

दुई प्रधानमन्त्रीले कोरोना महामारीको प्रभाव कम गर्न दुई देशले गरिरहेका प्रयासहरुको सराहना पनि गरेका थिए। प्रधानमन्त्री मोदीले नेपाललाई कोरोना प्रभाव कम गर्न निरन्तर सहयोग गर्ने पनि सुनिश्चित गरेको भारतले जानकारी दिएको छ।

भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीच सभ्यता र संस्कृतिका तहमा भएका सम्बन्धको स्मरण पनि ओलीसँग गरेका थिए। मोदीले वार्ताका लागि प्रधानमन्त्री ओलीलाई धन्यवाद पनि दिएका थिए ।

दुबै देशद्वारा जारी बेग्लाबेग्लै विज्ञप्ति हेर्नुहोस्

 

प्रकाशित मिति: Aug 15, 2020

प्रतिक्रिया दिनुहोस्