पाटन अस्पतालमा उपचाररत ३८ वर्षीय महिलाको कोरोनाबाट मृत्यु
पछिल्लो समयमा नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढीरहेको अवस्थामा कोरोनाबाट थप ललितपुरको पाटन अस्पतालमा उपचाररत जनकपुरकी एक महिलाको मृत्यु भएको छ ।
मंगलबार राति ललितपुरको पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षकी महिलाको ज्यान गएको अस्पतालले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८४ पुगेको छ ।
गएको साउन १८ गते अस्पताल भर्ना भएकी महिलाको आईसीयूमा उपचारका क्रममा राति ज्यान गएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारेमा नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ । अहिलेसम्म ४ लाख ६२ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा २३ हजार ९ सय ४८ जनामा कोरोना पुष्टि भएको छ ।