Logo
६ आश्विन २०८१, आईतबार
(August 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको जोखिम बढेका जिल्लामा लकडाउन गर्ने सम्पूर्ण अधिकार सिडिओ र स्थानीय तहलाई

 संघीय सरकारले फेरि मुलुकव्यापी लकडाउन नगर्ने भएको छ।

सरकारका प्रवक्ता युवराज खतिवडाले फेरि लकडाउन गर्ने तयारीमा सरकार नरहेको प्रष्टाएका हुन्।

मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै मंगलबार मन्त्री खतिवडाले दुई सयभन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्लामा प्रमुख जिल्ला अधिकारी र स्थानीय तहले ‘लकडाउन’ गर्न सक्ने बताए।

‘हामीले मुलुकव्यापी लकडाउन गरेका छैनौं। मन्त्रिपरिषदका निर्णयमा कहिँ पनि लकडाउन शब्द लेखिएको छैन,’ मन्त्री खतिवडाले भने, ‘कुनै जिल्ला कोरोनामुक्त भइसकेका छन् त्यसकारण केन्द्र सरकारले फेरि लकडाउन (बन्दाबन्दी) भन्न मिल्दैन। जरूरी पनि छैन। कोरोना बढेका ठाउँमा जोखिम हेरेर सिडिओ र स्थानीय तहलाई अधिकार दिइएको छ।’

उनले अहिले पनि मानिसको आवतजावत नरोकिएको जानकारी दिए।

‘दुई सयभन्दा कम कोरोना संक्रमित रहेका जिल्लाका मानिसलाई आवतजावत गर्न दिइएकै छ,’ उनले भने, ‘जहाँ कोरोना जोखिम देखिन्छ त्यहाँ कडाइ गर्ने क्षेत्रगत नीति अपनाइएको हो।’

उनले व्यवसाय गर्न र मालसामान ढुवानीमा पनि केन्द्र सरकारले रोक नलगाएको जानकारी दिए।

‘निश्चित ठाउँ जहाँ कोरोना जोखिम देखिन्छ त्यहाँ स्थानीय तहले प्रतिबन्ध लगाउन सक्छ। केन्द्र सरकारले फेरि बन्दाबन्दी गर्ने तयारी गरेको छैन,’ मन्त्री खतिवडाले भने।

जोर/बिजोर प्रणाली लागू गरेको सरकारले सार्वजनिक यातायात रोक्ने निर्णय पनि गरेको छैन। तर अन्तरजिल्ला सार्वजनिक यातायात भने खुलेको छैन।

प्रकाशित मिति: Aug 11, 2020

प्रतिक्रिया दिनुहोस्