Logo
१० मंसिर २०८१, सोमबार
(August 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झापामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

प्रदेश नं १ स्थित झापाको कमल गाउँपालिकामा गए राति जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

मृत्युहुनेमा कमल गाउँपालिका वडा नं ५ स्थित टुक्रेका ५८ वर्षीय रोहित रेग्मी रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भवनबाबु खड्काले जानकारी दिए ।

उनका अनुसार गए राति करिब २ बजेतिर नजिकैको रतुवा माईवृक्षरोपण आयोजनाको जङ्गलबाट आएको दुई हात्तीले परिवारसहित बस्दै आएका रेग्मीको छाप्रामा आक्रमण गरेको थियो ।

छाप्रामा एक्कासी हात्तीले आक्रमण गरेपछि ज्यान बचाउन भागेका रेग्मीलाई हात्तीले लखेटेर मारेको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक खड्काले बताए ।

रेग्मीका श्रीमती र एक नातिनी भने भागेर ज्यान जोगाउन सफल भएका थिए ।सशस्त्र प्रहरीको जग्गामा छाप्रो बनाएर बसोबास गर्दै आएका रेग्मीलाई छाप्रोबाट केही पर हात्तीले कुल्चिएर मारेको पाइएको तथा राति नै स्थानीयवासीले हात्तीलाई जङ्गलतर्फ नै धपाएको कमल-५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए ।

यसअघि समेत त्यस क्षेत्रमा हात्तीले उप्रदो मच्चाउँदै आएको थियो ।

प्रकाशित मिति: Aug 7, 2020

प्रतिक्रिया दिनुहोस्