Logo
५ आश्विन २०८१, शनिबार
(August 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समान चोरी भएपछि प्रेम सञ्जेले चार कर्मचारीलाई निकालेका थिए…

उपसचिव प्रेम सञ्जेलमाथि कार्यकक्षमै हातपात भएको घटना अहिले चर्चामा छ। श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि शनिबार आफ्नै कार्यालयका कर्मचारीले हातपात गरेका थिए।

विराटनगर घर भएका ५७ वर्षका सञ्जेल २०३८ सालदेखि सरकारी सेवामा छन्। उनी जहाँ जान्छन् त्यो कार्यालयमा ‘हामी घुस खाँदैनौं, तपाईं घुस दिन आउनुभएको भए उल्टो कारबाहीमा पर्नुहोला। हजुर सावधान!’ भन्ने पोस्टर टाँस्छन्।

धेरैले उनलाई भ्रष्टचारविरोधी कर्मचारी भनेर चिन्छन्। सञ्जेलमाथि शनिबार बिहान ११ बजेतिर कार्यकक्षमै करारमा रहेका कर्मचारीले हातपात गरेको खबर आयो। घटनामा संलग्न रहेको आरोप लागेकी कार्यालय सहयोगी नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ।

आफूलाई ती कर्मचारीले पञ्चिङ मेसिन, नेल कटर, कागजको डल्लोलगायतले प्रहार गरेको सञ्जेल बताएका छन्। सञ्जेलमाथि हातपात हुनुमा मुख्य दुई कारण देखिएका छन्।

पहिलो- सञ्जेलले गत शुक्रबार करारमा रहेका नासु, कम्प्युटर अपरेटर विराटनगर ३ का निर्मलकुमार दाहाललाई कामबाट निकालिदिएका थिए। सञ्जेलमाथि हातपात गरेकाे आरोप लागेकी नेत्र भट्टराई निरौला र दाहालबीच पारिवारिक नाता छ।

दाहाल निरौलाका बहिनीज्वाइँ हुन्। बहिनीज्वाइँलाई कार्यालयबाट निकालेको र आफूलाई पनि २४ सै घण्टा काममा लगाएकोमा निरौला सञ्जेलसँग रूष्ट रहेकोले उक्त घटना भएको स्रोतको दाबी छ।

कार्यालयमा रहेको पानी तान्ने मोटर लकडाउनका बेला चोरी भएपछि सञ्जेलले चार जना कर्मचारीलाई आलोपालो २४ सै घण्टा कार्यालयको ड्युटीमा खटाएका थिए। उक्त कारण निरौलालगायत कर्मचारी सञ्जेलसँग असन्तुष्ट थिए।

उनीहरूको आक्रमणबाट सञ्जेलको हातको पाखुरा, बुढी औंला र गालामा चोट लागेको छ। सञ्जेलले निर्मलकुमार लगायतलाई कार्यालयको पानी तान्ने मोटर चोरी भएको भन्दै स्पष्टिकरण सोधेका थिए। उक्त स्पष्टिकरण चित्तबुझ्दो नभएपछि उनलाई जागिरबाट निकालिएको थियो।

लकडाउनका बेला निर्मलकुमार एक सय २० दिन नै उक्त कार्यालयमा बसेकोले कार्यालयको रेखदेख गर्ने जिम्मेवारी उनको भएको सञ्जेलले तर्क गरेका छन्।

‘शनिबारका दिन मलाई कार्यालयमा बोलाएर महिला कर्मचारीले झट्टी हानेका हुन्,’ घटनापछि पत्रकारहरूसँग सञ्जेलले भनेका छन्। ती कर्मचारी शनिबार बिहान १० बजे कार्यालय आएका थिए। उनीहरूले फोन गरेर बोलाएपछि आफू कार्यालय आएको सञ्जेलको भनाइ छ।

सञ्जेलमाथि हातपातको आरोप लागेका दुई जना महिला कर्मचारीलाई प्रहरीले शनिबार नै नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले घटनाको अनुसन्धान भइरहेको बताए।

‘उहाँहरू अनुसन्धानमै हुनुहुन्छ। हिरासतमा राखेर घटनाबारे अनुसन्धान जारी छ,’ उनले भने, ‘कार्यालयमै सञ्जेलमाथि कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’ कार्यालयसम्बन्धी विवाद, रिसइवी, मनमुटावले गर्दा सञ्जेलमाथि हातपात भएको खुलेको उनले जानकारी दिए।

‘रिसइबी, मनमुटाव, भनाभन र हातपात भएको भन्ने खुलेको छ,’ उनले भने। महिला कर्मचारीहरूले आफूहरूलाई कामको प्रेसर दिने गरेको, तुच्छ बोलेकोलगायत आरोप सञ्जेलमाथि लगाएका छन्।

प्रकाशित मिति: Aug 2, 2020

प्रतिक्रिया दिनुहोस्