Logo
५ आश्विन २०८१, शनिबार
(July 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्मला पन्त हत्या प्रकरण : एसपी बिष्टसहित आठ प्रहरीलाई अदालतले सफाइ दियो

निर्मला पन्तको बलात्कार-हत्या प्रकरणको अनुसन्धानका क्रममा ‘यातना दिएको’ र ‘सार्वजनिक न्यायविरूद्धको कसुर’मा मुद्दा परेका आठ जना प्रहरीलाई कञ्चनपुर जिल्ला अदालतले सफाइ दिएको छ।

बिहीबार न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्टसहित मुद्दा परेका आठै जना प्रहरीलाई सफाइ दिएको हो।

बिस्टसहित सिआइबीका तत्कालीन डिएसपी अंगुर जिसी, प्रहरी कर्मचारीहरू ज्ञानबहादुर सेठी, हरसिंह धामी, रामसिंह धामी, एकेन्द्र खड्का, जगदीशप्रसाद भट्ट, र चाँदनी साउदलाई सफाइ दिइएको जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार यदुनाथ शर्माले बताए।

उनीहरूविरूद्ध निर्मला प्रकरणका प्रमाण नष्ट गरेको र अनुसन्धानका क्रममा पक्राउ परेका दीलिपसिंह बिष्टलाई यातना दिएको भन्दै प्रहरीले मुद्दा दायर गरेको थियो।

२०७५ साउन १० गते साथीको घरमा पढ्न भन्दै गएकी निर्मला ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्। उनीमाथि बलात्कार भएको पोष्टमार्टम रिपोर्टले देखाएको थियो।

निर्मलालाई बलात्कार गरी हत्या गरेको आशंकामा प्रहरीले स्थानीय दीलिपसिंह बिष्टलाई पक्राउ गरेको थियो। बिष्टले आफूले निर्मलालाई हत्या गरेको स्वीकारेको प्रहरीको दाबी थियो। तर निर्मलाको भजाइनल स्वावको नमूनासँग बिष्टको डिएनए नमिलेपछि उनलाई छोडिएको थियो।

निर्मला बलात्कारपछि हत्याकाण्डको प्रारम्भिक छानबिनदेखि नै प्रहरीले लापरबाही गरेको भन्दै कन्चनपुरमा आन्दोलनसमेत भएको थियो।

आन्दोलनका क्रममा एक जनाको ज्यान गयो। उक्त घटनाको छानबिन गर्न भन्दै सरकारले र प्रहरीले छानबिन समितिहरू बनाए पनि अहिलेसम्म अपराधी पत्ता लागेको छैन। ती छानविन समितिले लापरवाही गरेको र प्रमाण नष्ट गरेको प्रतिवेदन दिएपछि बिष्टसहित ८ प्रहरीमाथि मुद्दा चलाइएको थियो।

दिलिप सिंहका दाजुले प्रहरीले आफ्नो भाइलाई यातना दिएको भन्दै जाहेरी दिएका थिए। उक्त जाहेरीमाथि अनुसन्धान गरी प्रहरीले अदालतमा मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति: Jul 30, 2020

प्रतिक्रिया दिनुहोस्