Logo
५ आश्विन २०८१, शनिबार
(July 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संक्रमितले उपत्यकाका अस्पताल भरिँदै, परीक्षण बढाउन सरकारलाई दबाव


संक्रमितले उपत्यकाका अस्पताल भरिँदै गएका छन् । पछिल्लो समय संक्रमित बढेपछि परीक्षण बढाउन सरकारलाई दबाव पर्दै गएको हो ।

सरकारले लकडाउन अन्त्यसँगै सार्वजनिक सवारी साधन खुला गरेपछि कोरोना भाइरसको संक्रमण र महामारीको जोखिम बढ्न थालेको विज्ञहरुले बताएका छन्।

उपत्यकालाई सम्भावित क्षति हुनबाट जोगाउनका लागि सरकारले पीसीआर परीक्षणको दायरालाई बढाउनुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले बताए।

उनले भने, ‘सरकारले पीसीआर परीक्षण घटाउँदै लगिरहेको छ। लकडाउन भएको भए घटाउँदै जाँदा खासै फरक हुँदैनथ्यो। तर लकडाउन खुलिसकेपछि परीक्षणको दायरालाई अझ फराकिलो बनाउँदै जानु पर्छ। जति धेरै परीक्षण गर्न सक्यो, समुदायमा फैलिएको संक्रमणले भयावह स्थिति निम्त्याउन सक्दैन।’

यस्तै, संक्रमणको जोखिम बढेपछि केही दिन अगाडिबाट राजधानी पस्ने नागढुङ्गा, साँगा र फर्पिङ गरी उपत्यकाका तीन मुख्य नाकामा यात्रुहरुको स्वाब संकलन गर्न थालिएको छ।

पछिल्लो केही सयम यता उपत्यकाका धेरै जसो ठाउँहरुमा भिडभाड बढ्न थालेको छ। हालसम्म उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ४ सय ९१ पुगेको छ। बुधबार मात्रै काठमाडौँमा १४ र ललितपुरमा एक गरी उपत्यकामा १५ जना संक्रमित थपिएका छन्। यस्तै मंगलबार मात्रै उपत्यकामा ५३ जनामा संक्रमण देखिएको थियो।

देशका अन्य जिल्लाहरुमा संक्रमितको संख्या घट्दै जाँदा जिल्लाका विभिन्न अस्पतालहरु खाली हुन थालेका छन्। तर पछिल्लो केही साता यता उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि उपत्यकाका कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि तोकिएका हब अस्पतालहरु भरिन थालेका छन्।

हालसम्म देशभर संक्रमितको संख्या १९ हजार २ सय ७३ रहेको छ। यसमध्ये १४ हजार २१ संक्रमित निको भएर घर फर्किसकेका छन् भने ५० जनाको मृत्यु भइसकेको छ।

यस्तै ५ हजार २ सय ३ संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उपत्यका विभिन्न हब अस्पतालहरुमा १ सय ६५ जना संक्रमितको उपचार भइरहेको छ।

सरकारले साउन ७ गते साँझ लकडाउन अन्त्य भएको घोषणा गरेसँगै बिना कुनै रोकावट उपत्यका प्रवेश गर्नेहरुको संख्या बढ्दै जाँदा काठमाडौँ उपत्यकामा संक्रमण बढ्दै गइरहेको विज्ञहरुले बताएका छन्।

पछिल्लो समय संक्रमितहरुमा कोरोना भाइरसका सामान्य लक्षण देखिन थालेको चिकित्सकले बताएका छन्। यसका कारण संक्रमितहरुलाई आइसियूमा भर्ना गर्न थलिएको छ। लकडाउन भन्दा अगाडि संक्रमण देखिएका वृद्धा दीर्घरोगीहरुलाई मात्र आईसियूमा भर्ना गर्ने गरिएको थियो।

प्रकाशित मिति: Jul 30, 2020

प्रतिक्रिया दिनुहोस्