स्याङ्जाका प्रहरी प्रमुख एसपीसहित १८ जना प्रहरीमा कोरोना पुष्टि
स्याङ्जा : स्याङ्जाका प्रहरी प्रमुख एसपीसहित १८ जना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये एक जना महिला कर्मचारी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमा जनाएको छ ।
साउन ७ गते प्रहरीमा एकाएक ज्वरो आउने र रुघा लाग्ने भएपछि साउन ८ गते स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको थियो ।
९८ जना प्रहरी र हिरासतमा रहेका ४ जना गरी १०२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा ४० जनाको मात्र रिपोर्ट आएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए । यसअघि स्याङ्जामा कार्यरत ३ जना प्रहरीमा पनि कोरोना देखिएको थियो । तीन जना कार्यालयभित्रै नै सुरक्षित तवरले बसेका छन् ।
‘कोरोना भित्रभित्रै ब्यारेकमा सरिसकेको रहेछ,’ शर्माले भने, ‘खासै लक्षण नदेखिएपछि चेक गरिँदैन । प्रहरीको हकमा भने रुघा र ज्वरो लक्षण देखिएको थियो ।’ संक्रमित सबै जनालाई पुतलीबजारस्थित करेन्डाँडा र हेलुस्थित कालिका अस्पतालको आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको शर्माले बताए । ‘एसपी साबलाई भने आफ्नै निवासमा बस्न दिने कुरा भएको छ’ उनले थपे, ‘स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहनुहुनेछ ।’