Logo
२१ कार्तिक २०८१, बुधबार
(July 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालीलाई धारचुलाको बाटो हिडडुल गर्न रोक, स्थानीय बासिन्दा समस्यामा

भारतीय पक्षले नेपालीलाई धारचुलाको बाटो हिडडुल गर्न रोक लगाएको छ । दार्चुलाको छाङरु-तिङ्कर जाने एक मात्र घोडेटो बाटो विगत केही वर्षयता प्रयोग गर्न नमिल्ने गरी बिग्रिएपछि भारतको धार्चुलाको बाटो प्रयोग गर्न बाध्य भएका स्थानीय बासिन्दा अहिले समस्यामा परेका हुन् ।

कोरोना भाइरसको महामारीसँगै लकडाउन लागु भएको र अन्तर्राष्ट्रिय सीमा बन्द गरिएसँगै दार्चुलाको व्यास गाउँपालिका-१ को छाङरु र तिङ्करका बासिन्दाले विकल्पका रुपमा प्रयोग गर्दै आएको छाङरु-गर्ब्याङ-छ्यालेक बाटो बन्द रहेको गाउँपालिका अध्यक्ष दिलिप बुढाथोकीले बताए।

नेपालले नयाँ नक्सा जारी गरेपछि उत्पन्न सीमा विवादका कारण भारतीय पक्षले बाटो प्रयोगमा रोक लगाएको भन्ने आए पनि अहिले नै त्यस्तो भन्न नमिल्ने उनले बताए।

यस्तै चाडबाड आएकाले हिउँद छल्नका लागि सदरमुकामसहितका स्थान झरेकाहरु घर फर्किन नपाउँदा पनि समस्या भएको उनले बताएका छन्।

गाउँपालिका अध्यक्ष बुढाथोकीले भने, ‘लकडाउनसँगै अन्तर्राष्ट्रिय सीमा बन्द गरिएका कारण समस्या भएको हो । तर सीमा विवादको प्रभाव हो वा होइन भन्नका लागि सीमा खुला गरिनु पर्छ, त्यसपछि मात्रै थाहा हुन्छ।’

गएको जेठ दोस्रो हप्तादेखि नेपाली सेनाको टोलीले प्रयोग बिहीन रहेको छाङरु–तिङ्कर जोड्ने घोडेटो बाटोको अति असजिलो मार्ग मर्मतको काम गरिरहेको छ । ४५० मिटर मध्ये अहिलेसम्म २५० मिटरको काम सकिएर त्यसअघिको थप ३० मिटरको काम भइरहेको सेनाले जनाएको छ।

असजिलो क्षेत्रमा सेनाले र बाँकी स्थानमा स्थानीय तहले बाटोको काम गरिरहेको गाउँपालिका अध्यक्ष बुढाथोकिले बताए । सो मार्ग बनेपछि भारतीय मार्ग प्रयोग गर्नु पर्ने बाध्यता केही हदसम्म हट्ने उनले बताए।

तर तत्कालका लागि भने छाङ्रु र तिङ्करका बासिन्दा यातायात सञ्जालबाट विच्छेद भइ एक्लिएकाले विकल्पको खोजी भएको उनले बताए ।

हालै हेलिकप्टर मार्फत २०० क्वीन्टल चालम पठाइएको र स्थानीय स्वास्थ्य चौकीका लागि आधारभूत औषधिहरु पनि ठपाइएको भए पनि अरु दैनिक उपभोग्य सामानको अभाव रहेको स्थानीय बासिन्दाले गुनासो गरेको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताए।

 

प्रकाशित मिति: Jul 25, 2020

प्रतिक्रिया दिनुहोस्