सरकारसँग भौतिक दूरी राखी धार्मिक क्षेत्र खुला गर्न विश्व हिन्दु महासंघको माग
विश्व हिन्दु महासंघले समाजीक दूरी कायम गरी धार्मिक क्षेत्र खोल्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
महासंघले वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाका केन्द्र मठ-मन्दिर भौतिक दूरी कायम गरी खोल्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो ।
महासंघका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले आज जारी गरेको विज्ञप्तिमा अन्य सबै क्षेत्र खुलेकाले पूजाआजा एवं दर्शनले अशुभ मार्गबाट शुभ मार्गमा जान प्रेरित गर्ने आस्थाको केन्द्र मठ मन्दिर पनि खोल्न माग गरेका छन् ।
गत चैत ११ गते र हाल नेपालमा कोरोना भाइरसको अवस्था विश्लेषण गर्न पनि महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
मठ मन्दिर पनि भौतिक दूरी कायम गरी खुला गर्न सकिनेतर्फ सरकारले सोच नबनाएकोमा महासंघले आपत्ति जनाएको छ ।
अन्य सबै क्षेत्र खुला गरिँदा पनि मठ, मन्दिर, गुम्बा, चैत्य आदि धार्मिकस्थलका मूल ढोकासमेत बन्द गर्नाले महासंघलाई आश्चर्यमा पारेको अध्यक्ष अधिकारीले बताए ।
राम जन्मभूमि नेपालमै पर्छ भनी प्रधानमन्त्रीले भानुजयन्तीमा सार्वजनिक गरेका वक्तव्यको तथ्य, प्रमाण सार्वजनिक गर्न पनि महासंघले माग गरेको छ ।
सरकारले औपचारिकरूपमा खुला नगरे पनि साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा हजारौँ भक्तजनको भीड लागेको थियो ।