फेरि लकडाउन सिफारिस : वीरगञ्जमा कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३ पुग्यो
प्रदेश २ स्थित वीरगञ्ज माईस्थान घर भएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
वीरगञ्ज-६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो । सोमबार एडभान्स अस्पतालमा भर्ना भएका वर्णवालमा श्वासप्रश्वासको समस्या थियो ।
सोमबार नै उनलाई शंकास्पद कोरोना संक्रमितको रुपमा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
दिउँसो एक बजेतिर गण्डकमा भर्ना भएका उनको मंगलबार अपरान्ह मृत्यु भएको गण्डक कोभिड अस्पतालले जनाएको छ ।मृत्युपछि उनको स्वाब संकलन गरिएको थियो ।
नारायणी अस्पतालको पीसीआर ल्याबमा जाँच गर्दा बुधबार कोरोना पोजेटिभ देखिएको थियो । उनको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको गण्डक अस्थायी कोभिड अस्पतालका कोअर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।
मृतकमा अन्य कुनै स्वास्थ्य समस्या नरहेको उनको भनाइ छ । वीरगञ्जको स्थिति एकदमै कठिन बन्दै गएकाले लकडाउनका लागि सिफारिस गरिएको उनले जानकारी दिए ।