Logo
५ आश्विन २०८१, शनिबार
(July 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले थुनियो

नारायणगढ–मुग्लिन सडकको चारकिलो, कालीखोलामा सोमबार बिहानै पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ । काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक बिहान ४ बजेतिर पहिरो गएर थुनिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पहिरो ठूलो भएकाले सोमबार दिनभरजसो नै सडक अवरुद्ध हुने सम्भावना रहेको बताए । उनले तत्कालका लागि यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छन् । यो सडकमा दैनिक १० हजारसम्म गाडी गुड्छन् ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार बिहान ४ बजेतिर पहिरो गएको हो । अझै पनि झरी र पहिरो नथामिएकाले सडक खुलाउन सुरु भइसकेको छैन ।

मुग्लिनबाट चार किलो मिटर पश्चिम नारायणगढतर्फ कालीखोलामा असार ३ गते पनि पहिरो खसेको थियो । त्यो बेला पहिरो हटाएर दुईतर्फी गाडी चलाउन ६३ घण्टा लागेको थियो । अहिलेको पहिरो त्योभन्दा पनि ठूलो रहेको सूचना अधिकारी खनालले बताए ।

नारायणगढ–मुग्लिन सडकलाई दुई लेनको बनाउन ठाउँठाउँमा पहाड काटिएको छ । सडक विस्तारको काम सकिए पनि पहाड काटिएको ठाउँमा पहिरो जाने गरेको छ । कालीखोलामा पहिरो नियन्त्रणको काम अझै पूरा भएको छैन ।

प्रकाशित मिति: Jul 20, 2020

प्रतिक्रिया दिनुहोस्