विश्वभरमा अहिलेसम्मकै धरै एकै दिन झण्डै २ लाख ६० हजार कोराना संक्रमित थपिए
विश्वभरि कोरोना माहामारी झन खराब बन्दै गइरहेको अवस्थामा शनिबार एकै दिन अहिलेसम्मकै धरै झण्डै २ लाख ६० हजार मानिस संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
डब्लुएचओका अनुसार शनिबार विश्वभर दुई लाख ५९ हजार ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यसअघि शुक्रबार (जुलाई १७) मा विश्वभर दुई लाख ३७ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको थियो ।
एकै दिन दुई लाख ५० हजार भन्दा धेरै व्यक्तिमा संक्रमण भएको यो पहिलो पटक रहेको डब्लुएचओले जनाएको छ ।
सबैभन्दा धेरै संक्रमित अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा थपिएका छन् ।
अमेरिकामा शनिबार अहिलेसम्मकै धेरै ७१ हजार ४८४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै ब्राजिलमा ४५ हजार ४०३, भारतमा ३४ हजार ८८४ तथा दक्षिण अफ्रिकामा १३ हजार ३७३ जनामा शनिबार संक्रमण पुष्टि भएको डब्लुएचओले उल्लेख गरेको छ ।
अहिलेसम्म विश्वमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ६ लाख नाखेको छ । अहिलेसम्म विश्वभर ६ लाख ६ सय भन्दा धेरैको मृत्यु भएको छ । यस्तै संक्रमित हुनेको कुल संख्या एक करोड ४२ लाख २३ हजार भन्दा धेरै रहेको छ ।
विश्वभर मे १० यता शनिबार सबैभन्दा धेरै व्यक्तिको कोभिड-१९ बाट मृत्यु भएको छ । शनिबार एकै दिन सात हजार ३६० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा ३७ लाख सात हजार भन्दा धेरै संक्रमित भएकोमा एक लाख ४० हजार भन्दा धेरैको मृत्यु भएको छ ।