धरानमा कोरोनाबाट थप एक ७३ वर्षीय वृद्धको मृत्यु
नेपालमा कोरोनाबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक ७३ वर्षीय वृद्धको मृत्यु भएको छ ।
गत असार ३१ गते सप्तरीको राजविराजबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका बृद्धको बिहीबार राति करिब सवा १० बजे मृत्यु भएको हो।
प्रतिष्ठानका अनुसार मृतकको बिहीबार बेलुका करिब ६ बजे कोरोनाभाइरस कोभिड १९ परीक्षणमा पोजेटिभ देखिएको र राती मृत्यु भएको हो।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतकलाई उच्च रक्तचाप, मधुमेह, मुटुको रोग रहेको थियो।
अस्पतालमा सुरुमा ल्याउँदा प्रतिष्ठानको विशेष आइसोलेटेड इमेरजेन्सी कक्षमा राखेर उपचार गरिएको र कोरोना पुष्टि भएपछि कोरोनाको आइसोलेसन कक्षमा सारिएको प्रवक्ता सापकोटाले जानकारी दिए।
प्रवक्ता सापकोटाले दीर्घकालीन शारीरिक रोगका बिरामी भएकाले पनि विशेष निगरानीसहित उपचारमा राखेको बताए। योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।