सांसद विकास कोषको ७६ लाख रकम कोरोना कोषमा जम्मा
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष)अन्तर्गतको ७६ लाख बढी रकम कोरोना कोषमा जम्मा गरिएको छ ।
उक्त कार्यक्रममा आएको छ करोड रकममध्ये ७६ लाख ६८ हजार ५८१ कोरोना कोषमा जम्मा गरिएको सङ्घीय सांसद दामोदर भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिए ।
उक्त रकम असार १५ गतेसम्म खर्च हुन नसकेको जिल्लाका चार वटा स्थानीय तह मेलौली, पुचौैडी र दशरथचन्द नगरपालिका तथा शिवनाथ गाउँपालिकाको कोरोना कोषमा जम्मा गरिएको हो ।
जिल्लाको मेलौली नगरपालिकाको, लामालेक-बलाराघाट सडकखण्डमा खर्च हुन नसकेको रु २५ लाख, पुर्चौडी नगरपालिकाको भटना-श्रीभावर सडकखण्डमा खर्च हुन नसकेको १० लाख, दशरथचन्द नगरपालिकाको गढी खेलमैदान निर्माणमा खर्च हुन नसकेको रु २२ लाख ९७ हजार १९१ र शिवनाथ गाउँपालिकास्थित पर्यटकीय पदमार्ग निर्माणमा खर्च हुन नसकेको रु १८ लाख ७१ हजार ३९० कोरोना कोषमा जम्मा गरिएको छ ।
विकास निर्माणका योजनाका लागि छुट्याएकोमध्ये बचत भएपछि उक्त रकम स्थानीय तहकै कोरोना जम्मा गरिएको बैतडीबाट निर्वाचित सङ्घीय सांसद दामोदर भण्डारीले बताए ।
असार १५ सम्म खर्च गर्नुपर्ने रकम खर्च हुन नसकेपछि कोरोना कोषमा जम्मा गरिएको हो । उनले भने, “रकम फ्रिज हुनुभन्दा महामारी नियन्त्रण गर्न सहयोग पुगोस् भनेर कोरोना कोषमा जम्मा गरेका हौँ ।” सरकारले असार २ गते खर्च हुन नसकेर बचेको रकम सांसदको सहमतिमा स्थानीय तहको कोरोना कोषमा पठाउने निर्णय गरेको थियो ।
जम्मा भएको उक्त रकम सम्बन्धित स्थानीय तहमै कोरोना जोखिम नियन्त्रणका लागि खर्च गरिने जनाइएको छ । पुर्चौडी नगरपालिकाको रु १० लाख रकम सोही पालिकामा निर्माण भएको आइसोलेसन सुधारका लागि खर्च गरिने गरिने छ ।
शिवनाथ गाउँपालिकाको रु १८ लाख ७१ हजार ३९० पनि उक्त गाउपालिकाका सबै वडामा आइसोलेसन निर्माण तथा स्वास्थ्य पूर्वाधार निर्माणमा खर्च गरिने जनाइएको छ ।
यस्तै दशरथचन्द नगरपालिकाको रु २२ लाख ९७ हजार १९१ सबै वडामा आइसोलेसन बेड निर्माण र स्वास्थ्य पूर्वाधारमा खर्च गरिने छ ।
मेलौली नगरपालिकामा खर्च हुन नसकेको २५ लाख बजेटबाट नगरपालिकामा पिसिआर मेशिन खरिद गरिने सांसद भण्डारीका स्वकीय सचिव भण्डारीले बताए ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष)अन्तर्गतको उक्त ७६ लाख बढी रकम कोरोना कोषमा जम्मा भएपछि स्थानीय तहलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सहज भएको जनाएका छन् ।