Logo
५ आश्विन २०८१, शनिबार
(July 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करदातालाई सम्मानजनक व्यवहार गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा.युवराज खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न आन्तरिक राजश्व विभागका कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

आन्तरिक राजश्व विभागले २० लाख भन्दा कम कारोबार गर्ने र २ लाखसम्मको आम्दानी गर्ने करदाताका लागि बिहीबारदेखि सुरु गरेको नयाँ कर प्रणालीको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिएका हुन।

उनले जवसम्म प्रविधि, कानून र सुशासनको कारणले करदाता मैत्री वातावरण निर्माण गर्न सकिदैन तबसम्म करदाताले अपमानित महसुस गर्ने भएकाले करदातालाई गरिने व्यवहारमा सुधार ल्याउन आग्रह गरे।

उनले आजदेखि लागू भएको नयाँ कर प्रणालीमा करका अंक, ब्याज र जरिबाना सफ्टवेरले नै गणना गर्ने भएकाले कर अधिकृतले स्वविवेकले करका अंकहरु गणना गर्ने अवस्थाको अन्त्य भएको बताए।

यस्तै करको रकम यकिन भइसकेपछि पनि कर बुझाउन निकै लामो झण्झटीले प्रक्रियामा जानुपर्ने अवस्थाको पनि अन्त्य भएको अर्थमन्त्री खतिवडाले बताए।
अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले आज देखि लागू भएको कर प्रणालीले साना करदाताको लागत घटाउन सहयोग पुग्‍ने बताए। नयाँ प्रणालीले करिब ५ लाख करदाता लाभांवित हुने उनले बताए। यसबाट करदाताको सहभागिता बढाउन सहयोग पुग्‍ने विश्वा पुडासैनीले गरे।

आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद बहादुर कुँवरले आन्तरिक राजश्व विभागका सबै कारोबारलाई प्रविधि मैत्री बनाउने धेयका साथ काम गरिएको बताए। आज देखि लागू भएको प्रणालीले करिब ५ लाख करदातालाई कर कार्यालय नगईकन कर बुझाउन सक्ने व्यवस्था भएको बताए।उनले चालु आर्थिक वर्षको बजेटले परिवर्तन गरेका आयकरका विषयहरुलाई समावेस गरी आयकर निर्देशिका आजैबाट लागू गरिएको पनि जानकारी गराए।

बायोमेट्रिक प्रणाली र विभिन्न जिल्लामा १० वटा नयाँ करदाता कार्यालयको सञ्चालन पनि आजैदेखि सुरु गरिएको कुँवरले बताए।सबै व्यवसायिक कोडलाई व्यवस्थित गर्ने नेपाल स्टाण्डर्ड इन्ड्रष्ट्रीयल क्लासिफिकेसन (एनएसआईसी)लागू भएको उनले बताए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नागरिक एप सँग समन्वय गरी आजैका दिनदेखि विद्युतिय माध्यमबाट करदाता कार्यालयमा नगईकन व्यक्तिगत प्यान नम्बर लिन सकिने व्यवस्था मिलाईएको पनि कुँवरले बताए।

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत २० लाख भन्दा कम कारोबार गर्ने र दुई लाखसम्म आय हुनेहरुका लागि कर चुक्ता गर्न नयाँ प्रणालीको विकास गरिने व्यवस्था गरिएको थियो। सोही व्यवस्था अनुसार आन्तरिक राजश्व विभागले बिहीबारदेखि नै नयाँ कर प्रणालीलाई कार्यान्वयनमा ल्याएको हो।

प्रकाशित मिति: Jul 16, 2020

प्रतिक्रिया दिनुहोस्