म्याग्दीमा बाढी पहिरोमा परेर १० जनाको ज्यान गयो, १२ जना बेपत्ता
बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण गण्डकी प्रदेश स्थित म्याग्दीमा बाढी र पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ ।
उक्त बाढी र पहिरोमा परि १२ जना बेपत्ता भएका छन् ।बाढी तथा पहिरोमा परेर मालिका गाउँपालिका-७, विममा ८ जना र धवलागिरी-७, ताकममा दुई जनाको ज्यान गएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।
यसैगरी धवलागिरी–६, मराङमा बाढी तथा पहिरोमा परेर १२ जना बेपत्ता भएका प्रजिअ ढकालले बताए । उनले दिएको जानकारी अनुसार मराङमा २० घरधुरी, विममा १० घरधुरी र ताकममा ५ घरधुरीमा क्षति भएको छ ।
बाढीपहिरोमा परेर ज्यान गुमाएकाको परिचय खुल्न बाँकी रहेको उनले बताए । त्यस्तै अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्ड अन्तर्गत गलेश्वरस्थित रघुगंगा खोलामाथिको पक्की बेलिब्रिजमा बाढीले पूर्ण रुपमा क्षति पुर्याएको छ ।
रघुगंगा खोलामा आएको बाढीले पुलमा पूर्ण क्षति पुर्याएपछि रघुगंगा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडा तथा अन्नपूर्ण गाउँपालिका र हिमालपारीको जिल्ला मुस्ताङसँगको सीधा यातायात सम्पर्कबिच्छेद भएको छ ।
रघुगंगा नदीमा अत्यधिक बहाव बढेकाले बेलिब्रिज नजिकै रहेको झोलुङ्गे पुल तथा आसपासका बस्तीहरु उच्च जोखिममा परेका छन् ।
त्यसैगरी अन्नपूर्ण-८, राम्चेको पुम्दीखोलाबाट म्याग्दी सदरमुकाम बेनीमा ल्याइएको खानेपानीको ५ र ६ इन्चको जिआई पाइपमा पनि रघुगंगा नदीमा आएको बाढीले क्षति पुर्याएपछि बेनीबजारमा खानेपानी आपूर्ति बन्द भएको छ ।
रघुगंगा नदीमा आएको बाढीले बेलिब्रिज बगाए पनि मानवीय क्षति भने नभएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।
नदीमा उच्च बहाव आएको र बेलिब्रिजमा क्षति पुर्याउने अवस्था देखेपछि गलेश्वरवासीले मध्यराति नै खबर गरेपछि नदीको आसपासमा रहेका बस्तीबाट मानिसहरुलाई सुरक्षित ठाउँमा सारिएको उनले बताए ।