Logo
८ मंसिर २०८१, शनिबार
(July 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय न्यूज च्यानलको प्रशारण रोक्ने सरकारको निर्णय भएको छैन : सञ्चार मन्त्रालय

संघीय सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय न्यूज च्यानलको प्रशारण रोक्ने निर्णयबारे मन्त्रालयलाई कुनै जानकारी नरहेको बताएको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता ऋषिराम तिवारीले मन्त्रालयले कसैलाई पनि भारतीय न्यूज च्यानलको प्रशारण गर्नलाई निर्देशन नदिएको भन्दै केही केवल अपरेटरहरुले यसबारे निर्णय लिएकोबारे आधिकारिक जानकारी नरहेको बताए ।
मन्त्रालयले भारतीय न्यूज च्यानलले नेपालबारे घृणा फैलाउने गरी आपत्ति जनाउने सामग्री प्रकाशित गरेको जानकारी रहेको र यसबारे मन्त्रीले आफ्नो धारणा स्पष्ट पारिसकेको भन्दै न्यूज च्यानलको प्रशारण नै रोक्नेबारे कुनै जानकारी नरहेको स्पष्ट पारेको हो ।

‘मन्त्रालयले कसैलाई यसबारे निर्देशन दिएको छैन र समन्वय पनि भएको छैन’, तिवारीले भने, ‘मन्त्रीज्यूले बिहीबारको पत्रकार सम्मेलनमा जे भन्नुभएको छ त्योबाहेक जानकारी छैन ।’

बिहीबारको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री डा युवराज खतिवडाले भारतीय सञ्चार माध्यममा प्रधानमन्त्री र नेपाललाई जोडेर आउका विषयवस्तु प्रति सरकारको ध्यानाकर्षण भएको जनाएका थिए ।

प्रवक्ता खतिवडाले मिडियाहरुमा प्रतिवन्ध लगाउनुभन्दा आफै अनुशासनमा बस्ने भएपनि त्यसो हुन नसके कुटनीतिक संयन्त्र परिचालन गर्नुपर्ने बताएका थिए ।

राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र राष्ट्रहितमा आँच आउने गरी कुनै पनि सामग्री प्रकाशन र प्रशारण नगर्न आग्रह गर्दै उनले भारतीय मिडियाहरुमा देखिएको पछिल्लो प्रवृतिका लागि राजनीतिक र कानूनी उपचार खोज्नुपर्ने बताएका थिए ।

भारतीय टिभी च्यानल जी मिडिया अन्तरगतका च्यानलहरुले प्रधानमन्त्री केपी शर्मा र चिनियाँ राजदूतलाई जोडेर आपत्तिजनक सामग्री प्रकाशित गरेपछि भारतीय मिडियाको चौतर्फी विरोध हुँदै आएको छ ।

सोही सामग्रीलाई लिएर प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघले पनि कडा आपत्ति जनाएको छ ।

भारतीय मिडियाले पत्रकार आचारसंहिता विपरित सामग्री प्रशारण गरेपछि केही केबल अपरेटरहरुको बैठकले स्वतस्फूर्त रुपमा भारतीय न्यूज च्यानल बन्द गर्ने घोषणा गरेका छन् ।

बिहीबार साँझदेखि भारतीय न्यूज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताएका छन् ।

प्रकाशित मिति: Jul 9, 2020

प्रतिक्रिया दिनुहोस्