लकडाउनकै बीच विदेश फर्किन श्रम स्वीकृती खुला, एक हजारबढीले लिए अनुमति
काठमाडौं : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९)बाट बच्न सरकारले जारी गरेको लकडाउनकै बीच एक हजार भन्दा बढी श्रमिकले विदेश फर्किन श्रम स्वीकृति लिएका छन् । सरकारले विदामा आएकालाई विदेश फर्किन दिन पुनः श्रम स्वीकृति खुला गरेपछि एक हजार भन्दा बढी नेपालीले श्रम स्वकृति लिएका छन् ।
सरकारले विदेशबाट विदामा आएका र भिसा अवधि बाँकी रहेकालाई विदेश जान बिहीबारबाट पुनः श्रम स्वीकृति दिन थालेको थियो । यूएई, मलेसिया, जापान र कतारमा जान सबैभन्दा धेरै पुनः श्रम स्वीकृति जारी भएको छ ।
वैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालयका अनुसार विहीबार ५ जना र शुक्रबार दुई जनाले पुनः श्रम स्वीकृति पाएका थिए । ती दिनहरुमा सर्भरमा समस्या भएर स्वीकृति दिन नपाएपछि शनिबार पनि विभागको तहाचलस्थित कार्यालय खोलिएको थियो । शनिबार ४७ जनाले पुनः श्रम स्वीकृति पाएका थिए ।
कार्यालयबाट आइतबार एकैदिन ३४७ जना श्रमिकले विदेश जान अनुमति पाएका थिए । सोमबार यस्तो संख्या बढेर ४१० पुगेको थियो । मंगलबार पनि ३१५ जनाले पुनः श्रम स्वीकृति पाएका छन् ।
सरकारले वैदेशिक रोजगारी खुला गरेपनि नियमित हवाई उडान भने साउन ७ गतेसम्म बन्द गरिएकोले जानैपर्ने अवस्थाका कामदारहरु अनुमति लिएर नेपालबाट उद्धार उडान गर्ने विमानमा जानसक्ने विभागका महानिर्देशक कुमार दाहालले बताएका छन् ।
ताहाचलबाट बुधबारबाट वैधानिकीकरण शाखाबाट सेवा प्रवाह ९नयाँ बाहेक० सुरु हुने भएको छ । अनलाइनमार्फत रीत पूर्वक फारम भरी पाइने टोकन अनुसारको मितिमा कार्यालयमा सेवा लिन सकिने बताइएको छ । अहिले नयाँ कामदारलाई भने विदेश जान श्रम स्वीकृति दिइएको छैन ।