भारतको कानपुरमा अज्ञात समूहद्वारा डिएसपीसहित ८ प्रहरीको हत्या
छिमेकी देश भारतको उत्तरप्रदेशमा पर्ने कानपुर जिल्लामा बिहीबार राति अज्ञात समूहले अन्धाधुन्द गोली चलाउँदा आठ प्रहरीको हत्या भएको छ ।
बिहीबार राति करिब एक बजे अज्ञात समूहले अन्धाधुन्द गोली चलाउँदा एक डिएसपी र तीन इन्सपेक्टरसहित आठ जना प्रहरीहरु मारिएका हुन् ।
केही प्रहरीहरु घाइते छन् । उनीहरुलाई कानपुरकै रिजेन्सी अस्पतालमा भर्ना गरिएको छ ।
लामो समयदेखि फरार अभियुक्त विकास दुवेलाई पक्रन प्रहरीहरु बिकरु भन्ने गाउँमा गएका थिए । ती प्रहरीहरुलाई घरको छतबाट गोली हानिएको थियो ।
यो आक्रमणमा अभियुक्त दुवे र उनकै समूहको संलग्नता रहेको भारतीय प्रहरीको दाबी छ । दुवेको समूह प्रहरीहरुको हतियारसमेत लुटेर फरार भएको बताइएको छ ।
प्रतिरक्षामा गोली चलाउँदा दुवेको समूहका तीन सदस्यसमेत मारिएको जानकारी प्रहरीले दिएको छ ।
मुख्यमन्त्री योगी आदित्यनाथले आक्रमणकारीहरुविरुद्ध कारवाही चलाउन निर्देशन दिएका छन् । उत्तर प्रदेश प्रहरीले सबै सीमा नाका बन्द गरेको छ ।