Logo
२३ कार्तिक २०८१, शुक्रबार
(June 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले होइन, मैले मागेको हो, तपाईं राजीनामा दिनुस् : प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग राजीनमा मागेका छन् ।

‘भारतले होइन मैले मागेको हो, तपाईं राजीनामा दिनुस्’ प्रचण्डको भनाई उदृत गर्दै एक नेताले भने ‘अब अत्ति हो अब तपाईले पद छोड्दिनुस् ।’

ओलीले पार्टीभित्रैबाट आफूलाई हटाउने प्रयास भइरहेको मनसायबाट प्रश्न उठाएपछि अर्का अध्यक्ष प्रचण्डले राजीनामा भारतले नभई आफूले मागेको स्पष्ट पारे।

बैठकमा शीर्ष अन्य नेताहरुले पनि अध्यक्ष एवं प्रधानमन्त्री ओलीले ‘आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजियो’ भन्ने अभिव्यक्तिबारे प्रश्न उठाएका थिए।

भारत र भारतीय दूतावासले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागिपरेको ओलीले दाबी गरेका थिए। तर नेताहरुले भने ओलीले आफूलाई कसलाई हटाउन चाहेका हुन् भन्ने बारेमा प्रमाण सहित स्पष्ट पार्नुपर्ने माग गरेका थिए।

मंगलबार बालुवाटारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबैबाट राजीनामा दिनुपर्ने माग गरे।

बैठकमा बोल्दै प्रचण्डले पछिल्लो समय ‘भारतले मलाई हटाउन खोज्दै छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिरेको बताए।

‘मदन जयन्तीका दिन तपाईंले भारतविरूद्ध जे भन्नुभयो त्यसले पार्टीको प्रतिष्ठा गिरेको छ,’ प्रचण्डलाई उद्धृत गर्दै स्रोतले भन्यो,‘भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय प्रतिष्ठा कायम गर्न सकिन्न।’

प्रचण्डले ओलीलाई उनको राजीनामा दिल्लीले नभई पार्टीले माग्ने पनि बताएका थिए। ‘यसअघि पनि दिल्लीले होइन मैले तपाईंको राजीनामा मागेको हुँ। आज पनि दिल्लीले होइन म तपाईंको राजीनामा माग्दैछु। तपाईं प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुस्,’ प्रचण्डले बैठकमा भने।

प्रचण्डको यस्तो भनाइपछि प्रधानमन्त्री ओलीले नेकपाको पार्टी बैठकमा भएका कुरा र नयाँदिल्लीका मिडियामा आउने कुरा कसरी ठ्याक्कै मिल्छन् त भनेर प्रश्न सोधेका थिए।

बैठकमा अन्य नेताहरूले बोल्ने क्रम जारी छ। यसअघि बोलेका बरिष्ठ नेता झलनाथ खनाल, माधवकुरमा नेपाल र वामदेव गौतमले पनि प्रधानमन्त्रीको आफूलाई हटाउन भारत लागेको छ भन्ने अभिव्यक्ति गम्भीर भएको बताएका थिए।

उनीहरू तीनै जनाले पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनु पर्ने माग गरेका थिए। पछिल्लो समय ओली-प्रचण्ड बीचको अविश्वास र तिक्तताले बढिरहेको छ।

‘उहाँहरूबीच विवाद थियो भन्ने जगजाहेरै छ,’ उनले भने, ‘अहिले भने त्यो विवाद व्यक्तित्वको टकराव र तिक्ततामा परिणत भएको छ।’

यो तिक्तता र टकरावका पछि दुबै अध्यक्षका आ-आफ्नै ब्याख्या छन्। गत मंसिर ४ गते दुई अध्यक्षबीच दुबैले मिलेर पार्टी र सरकार चलाउने सहमति भएको थियो।

प्रधानमन्त्री ओलीले संसदको यो अवधिभर सरकारका काममा केन्द्रीत रहने र प्रचण्डले कार्यकारी अध्यक्षका रूपमा पार्टी चलाउने लिखित सहमति दुबै अध्यक्षले गरेका थिए। दुबैले त्यो लिखित सहमतिको साक्षी राष्ट्रपति विद्यादेवी भण्डारीलाई राखेका थिए।

त्यो सहमतिपछि पनि प्रचण्डले सरकारलाई राम्ररी नसघाएको, सार्वजनिक रूपमा सरकारको बचाउ नगरेको, गुटको भेला गरेर आफूविरूद्ध घेराबन्दी गरेको आरोप प्रधानमन्त्री ओलीको छ।

प्रचण्डका आफ्नै असन्तुष्टि छन्।

प्रकाशित मिति: Jun 30, 2020

प्रतिक्रिया दिनुहोस्