Logo
५ आश्विन २०८१, शनिबार
(June 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी कार्यालयका लेखापाल अख्तियारको निगरानीमा, ३ करोड खाएको आरोपमा मुद्दा दायर

सरकारी कार्यालयमा घुसको विगविगी अझै पनि नरोकिएपछि अख्तियारले पछिल्लो समय सक्रियता बढाएको छ । जसअनुसार अख्तियारले सरकारी कार्यालयका लेखापाल माथि विशेष निगरानी गर्न लागेको हो ।

यसैक्रममा अख्तियारले मालपोत कार्यालय बाराका लेखापाल युगलकिशोर ठाकुरविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ । 

गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा परेको उजुरीमाथि अनुसन्धान गर्दै अख्तियारले ठाकुरविरुद्ध ३ करोड, ४ लाख, ९४ हजार ३०८ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो । 

ठाकुरले सार्वजनिक सेवामा प्रवेशपछि २०७६ वैशाख मसान्तसम्ममा पारिश्रमिक १० लाख ८० हजार ७०८ रुपैयाँ रहेको र अन्य आयको दाबी पुष्टि गर्ने आधार नरहेको अख्तियारले जनाएको छ । 

अनुसन्धानका क्रममा लेखापाल युगलकिशोर ठाकुरले श्रीमती शोभाकुमारीको नाममा दर्ता कायम रहने गरी बारा जिल्ला बधवन गाउँपालिका– ५ मा ७ कट्ठा १० धुर जग्गा ३ लाख रुपैयाँमा खरिद गरेको र मदनप्रसाद गुप्तासँग संयुक्त नाममा राष्ट्रिय वाणिज्य बैंक सिमरामा २ करोड ७६ लाख ४४ हजार १ रुपैयाँ जम्मा भएकाे देखिएको तथा विभिन्न बैंक तथा वित्तीय संस्थामा ११ लाख ३९ हजार १५ रुपैयाँ र उनको घरबाट नगद २४ लाख ९२ हजारसमेत गरी ३ करोड १५ लाख ७५ हजार १६ रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको अख्तियारले जनाएको छ ।

उनले २०७६ वैशाख मसान्तसम्मको अवधिमा लगानी गरेको ३ करोड १५ लाख ७५ हजार १६ रुपैयाँमध्ये ३ करोड ४ लाख ९४ हजार ३०८ रुपैयाँको स्रोत नखुलेको हो । 

ठाकुरले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको रकम र साथबाट बरामद भएको २४ लाख ९२ हजार र व्यक्तिगत संयुक्त खातामा रहेको मौज्दात रकम २ करोड ७६ लाख ४४ हजार १ रुपैयाँसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गर्न माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

उनी ९ माघ २०६८ मा कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट सहलेखापाल पदमा नियुक्त भई २२ वैशाख २०७२ मा लेखापाल पदमा बढुवा भएका थिए । 

उनले मालपोत कार्यालय सिमरामा रहँदा मालपोत कार्यालयमा उठेकाे राजस्व रकम कार्यालयको खातामा जम्मा नगरी तत्कालीन मालपोत कार्यालय सिमराका कार्यालय प्रमुख मदनप्रसाद गुप्तासँगको संयुक्त खातामा जम्मा गरेको पाइएको अख्तियारले जनाएको छ । 

प्रकाशित मिति: Jun 29, 2020

प्रतिक्रिया दिनुहोस्