अब भारतसँग वार्ता नै भूमि फिर्ता ल्याउने माध्यम : नेकपा [कस्ले के भने ?]
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विभिन्न नेताहरुले भारतद्वारा अतिक्रमित भूूमि फिर्ता ल्याउन राष्ट्रिय सहमतिका आधारमा वार्ता प्रक्रिया अगाडि बढाउन पार्टी तथा सरकारलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री निवासमा जारी नेकपाको स्थायी कमिटीमा विभिन्न नेताहरुले नेपाली भूूमि फिर्ता ल्याउन वार्ता गर्न सुझाव दिएको पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नेकपाको स्थायी कमिटी बैठकमा नक्सा र सीमा विवादको कार्यसूचीमा छलफल भइरहेको छ ।
प्रवक्ता श्रेष्ठका अनुसार शनिबारको बैठकमा नेपालको सीमा समस्या र समाधानका बारेमा देवेन्द्र पौडेल, रघुवीर महासेठ, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, रघुजी पन्त, सत्यनारायण मण्डलले धारणा राखेका थिए ।
यसैगरी युवराज ज्ञवाली, नन्दकुमार प्रसाईं, प्रदीप ज्ञवाली, वामदेव गौतम, योगेश भट्टराई, पृथ्वीसुब्बा गुरुङ, ईश्वर पोखरेल, विष्णुपुकार श्रेष्ठ, मणि थापा, घनश्याम भुसाल, शक्ति बस्नेत र डा. पुष्प कँडेल गरी २१ नेताले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
नेकपाका उपाध्यक्ष वामदेव गौतमले संविधान संशोधन गरी नक्सा अध्यावधि गरिसकेपछि वार्ता र छलफलको माध्यमबाट नेपालको भूमि भारतबाट फिर्ता ल्याउन सुुझाव दिए । पार्टी र सरकारले नयाँ नक्सा बनाएर ऐतिहासिक काम गरेको बताउँदै उहाँले अबको काम भूमि फिर्ता र नेपाली भूमिबाट भारतीय सेना हटाउने कार्यसूची रहेको स्पष्ट पारे ।
संसदीय दलका उपनेतासमेत रहेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सरकारले संविधान निर्माणभन्दा पनि नक्साका लागि संविधान संशोधन गरेर अग्रगामी काम गरेको बताए ।
नेम्वाङले संविधान जारी हुँदा विपक्षमा मत परेको थियो तर नक्साका लागि संविधान संशोधन हुँदा राष्ट्रिय सहमति बनेको हुनाले संविधान जारी हुँदाभन्दा पनि यो एक कदम अगाडि रहेको धारणा राखे । त्यसका लागि पार्टी र सरकारले ठूलो मिहिनेत गर्नुुपरेको उहाँले स्पष्ट पारे ।
बैठकमा गणेश साहले वार्ता र छलफलबाट मात्र दुई देशको विवाद समाधान गर्न सकिने भएकाले यसका लागि दुवै देशले सकारात्मक पहल गर्नु आवश्यक रहेको बताए । अर्का स्थायी कमिटी सदस्य रघुजी पन्तले पनि नेपाल-भारतको सीमा विवाद वार्ताको माध्यमबाट मात्र समाधान गर्न सकिने धारणा राखेका थिए ।
उनले बैठकमा भारतले नेपाललाई पेलेर समस्याको समाधान गर्न खोजेका कारण यो अवस्था आयो । हेपाहा प्रवृत्तिले समाधान हुँदैन भने ।
अर्का स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले कूटनीतिक माध्यमबाट भारतमाथि दबाब दिएर अतिक्रमित जग्गा फिर्ता लिनुपर्ने धारणा राखे ।
बैठकको प्रारम्भमा प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली सहभागी भएपनी पछि स्वास्थ्य असहज भएको जानकारी गराएर बैठकबाट निस्किएका थिए ।
त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णुप्रसाद पौडेलले बैठक सञ्चालन गरेका थिए । अर्को बैठक आउदो मंगलबार असार १६ गते बस्नेछ ।