नेपालको जनसंख्या तीन करोड नाघ्यो, वृद्धिदर घट्दो क्रममा
नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीमा शुक्रबार मध्याह्न नेपालको जनसंख्या ३ करोड ६३४ जना देखाइएको छ ।
विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या हो । यो घडी २०६८ को जनगणनाको आधारमा सेट गरिएको हो ।
घडीले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको आधारमा जनसंख्या देखाउँछ । २०६८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ५४ हजार ५०४ थियो ।
१२ औं राष्ट्रिय जनगणना २०७८ असारमा हुँदैछ । दैनिक जनसंख्या वृद्धि एक हजारदेखि एक हजार एक सय रहेको विभागले जानकारी दिएको छ ।
जनसंख्या वृद्धिदर घट्दो क्रममा रहेको विभागका निर्देशक ढुण्डीराज लामिछानेको भनाई छ । लामिछानेका अनुसार जन्मदर र मृत्युदर दुवै घट्दो क्रममा छ ।
बसाइँसराइ अनुपातमा भने खासै फरक नआएको उनले जानकारी दिए । श्रम बजारमा १५ देखि ६० वर्षलाई उत्पादनशील जनसंख्या मानिन्छ ।
नेपालका झण्डै दुई तिहाइ जनसंख्या १५ वर्षदेखि ६४ वर्ष उमेर समूहका रहेको जानकारहरू बताउँछन् भन्दै अनलाईन खबरमा समाचार छ ।