प्रधानमन्त्रीद्वारा ‘राष्ट्रिय योग अभ्यासक्रम’ पुस्तकको बिमोचन : ‘व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण’
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय योग अभ्यासक्रम’ पुस्तकको भिडियो कन्फ्रेन्स मार्फत बिमोचन गरेका छन् । अन्तर्राष्ट्रीय योग दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय द्वारा प्रकाशित उक्त पुस्तकलाई बिमोचन गरेका हुन् ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका वेला औषधीय गुणयुक्त आहर, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्त महत्वपूर्ण भएको बताएका छन् । ती कुराका लागि योग शास्त्रले ज्ञान दिँदै आएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
छैठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले भनेका छन्, ‘आधारभूत स्वास्थ्य सेवाभित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा समेत जोड दिँदै हामी निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्दछौं ।’
शारीरिक एवं मानसिक स्वस्थ्य र निरोगी नागरिक समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने मुख्य आधार भएको ओलीले बताएका छन् ।
ओलीले अगाडि भनेका छन्, ‘अन्तर्राष्ट्रिय योग दिवसको यस अवसरमा योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न म सबैमा आह्वान गर्दछु ।’