Logo
६ माघ २०८१, आईतबार
(June 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज कोेरियाबाट २२८ जना नेपाली नेपाल आइपुगे, १६१ जना नेपाली आजै कोरिया उड्दैँ

पछिल्लो समयमा कोरोनाको कारण अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउनेक्रम जारीरहेको आज कोरियाबाट २२८ जना नेपाली काठमाण्डौ आइपुगेका छन् ।

कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोरियामा रोकिएका र समस्यामा परेका नेपालीहरु कोरियन एअरमार्फत स्वदेश फर्किएका हुन ।

प्रवेशाज्ञा अवधि सकिएका तथा नेपाल फर्कनुपर्ने आवश्यकता हेरेर सकेसम्म सबैभन्दा बढी आवश्यक भएकालाई प्राथमिकताका साथ समेटिएको बताइएको छ ।

कोरियन एअरको चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका नेपालीहरु आफ्नै खर्चमा फर्किएका हुन् । यात्रुले टिकट बापत झण्डै ८५ हजार रुपैयाँ तिरेका छन् ।

तीमध्ये अवैधानिक बसोबास गरेका अभियोगमा दक्षिण कोरियामा बन्दी जीवन बिताइरहेकामध्येबाट १५, बिरामी तथा गर्भवती ३६ जनासहित कोरियामा रोजगारी वा अन्य सिलसिलामा रहेर प्रवेशाज्ञा अवधि सकिएर नेपाल फर्कन नसकेकाहरू रहेका छन् ।

आजै यो जहाजबाट १६१ जना नेपाली कोरिया जाने भएका छन् । कोरियाबाट बिदामा नेपाल आएका र फर्कनका लागि भ्यालिड भिसा र श्रम स्वीकृति भएका नेपालीहरु मात्रै फर्कन लागेको ईपीएस कोरिया शाखाका अधिकृत बाबुराम घिमिरेले जानकारी दिए ।

अहिले भिसा नभएका या नयाँ प्रक्रिया गरेर जानुपर्ने लगायत ईपीएस कोरिया शाखाबाट थप प्रक्रिया गर्नुपर्ने कोही पनि नेपाली कोरिया जान पाएका छैनन् ।

‘उनीहरु घुम्न या परिवारिक भेटघाटका लागि बिदामा नेपाल आएको र जोसँग अवधि भएको भिसा र श्रम स्वीकृति छ उनीहरु मात्रै फर्कनु हुने हो,’ शाखा अधिकृत घिमिरेले भने,‘थप प्रक्रिया गरेर जाने नेपालीहरु यस उडानमार्फत जान पाउनु हुने छैन ।’

घिमिरेका अनुसार जुन १६ अर्थात गएको मंगलबार पनि १६८ नेपाली कोरिया फर्किएका छन् । उनीहरु पनि बिदामा नेपाल आएका र साथमा आधिकारीक भिसाको अवधि र श्रम स्वीकृति भएकाहरु नै हुन् ।

गएको वैशाख १४ गते मन्त्रिपरिषद्को बैठकले सबै प्रक्रिया पूरा भएर पनि कोरिया जान नपाएका नेपाली श्रमिकलाई कोरिया सरकारसँग समन्वय गरेर उड्न दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति: Jun 20, 2020

प्रतिक्रिया दिनुहोस्