Logo
५ आश्विन २०८१, शनिबार
(June 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले हेपाहा प्रवृत्ति देखाएर वार्तामा बस्न चाहेन : नारायणकाजी श्रेष्ठ

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठले भारतले नेपालप्रति हेपाहा प्रवृत्ति देखाई सीमासम्बन्धी वार्तामा बस्न नचाहेको बताएका छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा संविधान संशोधन विधेयकमाथिको छलफलमा श्रेष्ठले भारतको हेपाहा प्रवृत्तिका कारण वार्ता हुन नसकेको बताएका हुन् ।

नेपालको भूमि मिचेर नक्सा सार्वजनिक गरेको भारतलाई नेपालले पटकपटक कूटनीतिक वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरे पनि भारतले नचाहेको उनले बताए ।

उनले भने, ‘जब विवादित भूमि हो भनेर भारतले समेत स्वीकार गरेर त्यसलाई समाधान गर्न परराष्ट्रसचिवको स्तरमा एउटा उच्चस्तरीय समिति बनाइयो, त्यो समितिको बैठक गर्न हामीले लगातार भन्यौँ, माग गऱ्याैँ, तर भएन सन् २०१९ को नोभेम्बरमा उहाँहरूको नक्सा प्रकाशित गरिसकेपछि हामीले तत्काल जोड दियौँ सीधै वार्ता गरौँ भनेर भन्यौँ । उहाँहरूले वार्तामा पटक्कै ध्यान दिनुभएन ।’

उनले भारतका थुप्रै कूटनीतिक व्यक्तिहरूले समेत नेपालसँग वार्ता नगर्नु भारतको गल्ती भएको बताएको उल्लेख गर्दै भारतलाई ऐतिहासिक तथ्यको आधारमा निष्कर्षमा छिटो पुग्नसमेत आग्रह गरे ।

उनले भारतले नेपालको भूभाग समेटेर नयाँ नक्सा समावेश गर्न संविधान संशोधन गर्न हुने, तर तेपालले संविधान संशोधन गर्दा वाताएको वातावरण बिग्रिएको भन्नु भारतको हेपाहा प्रवृत्ति भएको बताए ।

उनले भने, ‘उहाँहरूले नेपालले वार्ता भाँजो हालेजस्तो कतिपयले कुरा गरिराख्नुभएको छ । म भन्न चाहन्छु उहाँहरूले आफ्नो संविधान संशोधन गरेर जम्मुकस्मिरलाई दिएको स्टाटस फेरेर त्यसको आधारमा हामीले नयाँ नक्सा बनायौँ भनेर भन्न हुने, हामीलाई अझ मिच्ने, हेपाहा प्रवृत्ति प्रदर्शन गर्ने ?’

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको अतिक्रमित भूमि फिर्ता गर्न ऐतिहासिक तथ्य र प्रमाणको आधारमा मात्रै कदम चालिएको उनले बताए ।

तीनवटा ऐतिहासिक आधारमा त्यस क्षेत्रको भूमि नेपालको भएको स्पस्ट हुने श्रेष्ठको भनाइ छ ।

उनले भूमिको विषयमा विवाद रहँदा रहँदै पनि वार्तामा बसेर कूटनीतिक संवादमार्फत नै समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘हामी भनिराखेका छौँ, तपाईंहरूले वार्तामा बसेर समस्या समाधान गर्न तयार पार्नुपर्छ । हामीले बारम्बार भनिराखेका छौँ, वार्तामा बसौँ कूटनीतिक संवाद नै यो समस्याको पनि समाधानको एक मात्र बाटो हो भनेर हामीले भनेकै छौँ । हामी त्यसमा आतुर छौँ र लगातार प्रयत्न गरिराखेका छौँ ।’

प्रकाशित मिति: Jun 18, 2020

प्रतिक्रिया दिनुहोस्