Logo
८ मंसिर २०८१, शनिबार
(June 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यूज-२४ बाट कर्मचारी/पत्रकार लखेटिँदै, पीडितका ‘नायक’ भनिएका रवि लामिछाने रमिते!

कोभिड-१९ को महामारीलाई बहना बनाएर अन्याय गरेको भन्दै न्यूज-२४ का पत्रकार र कर्मचारीले न्यूनतम पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासंघमा उजुरी गरेका छन् ।

असार २ गते दुबै निकायमा पठाइएको उजुरीमा व्यवस्थापनले पत्रकार/कर्मचारीलाई हटाउने, विभिन्न समस्या सिर्जना गराएर हट्न बाध्य बनाउने, सेवा-सुविधा कटौती गर्ने, तोकिएको भन्दा बढी काममा लगाएर श्रम शोषण गर्नेजस्ता हर्कत गरिरहेको दावी छ ।

उजुरीमा हालसम्म करिब १० जना पत्रकार, कर्मचारीलाई सेवाबाट हटाइएको, केहीलाई खबर गरेपछि आउन भनिएको र केहीलाई छोड्न बाध्य पार्ने हर्कत भइरहेको उल्लेख छ ।

फ्रन्ट र हेल्प डेस्कका ५ जना कर्मचारीलाई निकालेको, बिजनेश ब्यूरोमा कार्यरत सुमन शर्मालाई कार्यालय नआउन पत्र थमाइएको तथा अर्का रिपोर्टर हेमराज खड्कालाई कार्यालय नआउन भनिएको छ ।

समाचार प्रस्तोता स्मृति मल्ल र भिजुएल एडिटर सपन मानन्धरलाई ‘लकडाउन’ सुरु भए लगत्तै काममा नआउन भनिएको थियो ।

पत्रकार, कर्मचारीका असहमतिका बीच न्यूज २४ ले लकडाउन सुरु भएकै महिना (चैत) देखि नै अधिकांशलाई १५ दिन काम लगाएर सोहीअनुसार मात्र दिने, नभए काम छोड्न धम्की दिएको थियो ।

कर्मचारीका अनुसार आधा भनिएकै तलब पनि चैत, बैशाख र जेठको गरी ३ महिनाको दिन बाँकी छ ।

लकडाउनका बेला पनि तलब नपाएर आक्रोशित बनेका पत्रकार, कर्मचारीले न्यूनतम पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासंघमा उजुरी गरेका छन् । धेरै पारिश्रमिक हुनेको कटौती गर्न भन्दै विभागीय प्रमुखहरुलाई नै विदामा राखिएको छ ।

समाचारका प्रमोद न्यौपाने एक महिना र क्यामराका विजय उदय पाल्पालीलाई ३ महिनादेखि विदामा राखिएको छ भने टेक्निकलका मनिष सत्याललाई दिन बिराएर काममा लगाइएको छ ।

न्यौपानेलाई विदामा राखिएको कारण उनले सातामा ३ पटक सञ्चालन गर्ने कार्यक्रम ‘द डिबेट’ एक महिनादेखि प्रसारण भएको छैन । टेलिभिजन व्यवस्थापनले खर्च कटौती गर्न भन्दै चैत १५ देखि बैशाख १५ र जेठ ५ देखि मसान्तसम्म ३० जना कर्मचारीलाई कार्यालयमै राखेर काम लगाएको थियो ।

त्यसबेला सीमित जनशक्तिले २४ टेलिभिजन सञ्चालन गरेकाले पनि न्यूज-२४ व्यवस्थापन कर्मचारी घटाउने तयारीमा रहेको बताइन्छ । केही पत्रकार गलहत्याएर निकालिनु भन्दा राजीनामा दिने सोचमा पुगेका छन् ।

१५ दिनको मात्रै तलब दिने नीति असार १ गतेदेखि पनि निरन्तर रहेको भन्दै व्यवस्थापनले पत्रकार, कर्मचारीलाई जबरजस्त कार्यतालिका थमाइएको छ ।

दिन विराएर कार्यालय बोलाइएका कर्मचारीलाई दैनिक १६ घण्टासम्म काममा लगाइन्छ । भनेअनुसार काम नगर्ने भए राजीनामा गर्न दबाब दिने गरेको उजुरीमा उल्लेख छ ।

अघिल्ला दुई दसैं र तिहारमा काम गरेको अतिरिक्त सुविधा र दुई वर्ष अगाडि नै बढेको भनिएको तलब (३ महिना)को नपाएको गुनासो पनि उजुरीमै गरिएको छ ।

अधिकांश पत्रकार/कर्मचारीको बैशाखमा सम्झौता नविकरण नगरी तिनलाई सेवाबाट हटाउने तयारी गरिएको छ । देश–दुनियाँका पीडितको पक्षमा वकालत गर्ने ‘नायक’ भनिएका रवि लामिछाने नै व्यवस्थापनका नजिक रहेको न्यूज-२४ ले पत्रकार, कर्मचारीलाई चरम अन्याय गरेको हो ।

कर्मचारी निकाल्दा, जबरजस्त विदामा राख्दा र राजीनामाका लागि दबाब दिँदा पनि लामिछानेले मुख खोल्न नसकेको त्यहाँका एक रिपोर्टरले बताए ।

पत्रकार, कर्मचारीको राहतका लागि दबाब बढाउनु पर्ने लामिछानेले नै ‘आधा महिना कामः आधा तलब’को प्रस्ताव ल्याएको तिनले बताए ।

‘पर्दामा गर्ने वकालत व्यवहारमा ठीक उल्टो हुँदा यहाँका पत्रकार, कर्मचारीले झनै दुःख पाए’ अर्का एक पत्रकारको भनाइ थियो । यो विषयमा खुलानेपालले टेलिभिजनका महाप्रवन्धक सुधिराज भण्डारीसँग टेलिफोन सम्पर्क गरेको थियो ।

भण्डारीले पत्रकार, कर्मचारीलाई जबर्जस्ती हटाउन लागेको, महासंघको उजुरीमा परेका आरोपको भने खण्डन गरे । ‘त्यस्तो समस्या छैन, उनले भने ।

सभार : खुला नेपाल

प्रकाशित मिति: Jun 18, 2020

प्रतिक्रिया दिनुहोस्