प्रधानसेनापति थापा र आइजीपी खनाल पहिलोपटक कालापानी क्षेत्र जादैँ
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाल आज कालापानी क्षेत्र पुग्दैछन् । उनीहरु हवाई मार्ग हुँदै कालापानीको छाँगरुमा पुग्नेछन् ।नेपाली सेनाका प्रधानसेनापति पहिलोपटक कालापानी क्षेत्र पुग्न लागेका हुन् ।
यसलाई निकै चासोका साथ हेरिएको छ । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरी नयाँ नक्शा जारी गरेपछि उक्त क्षेत्र नजिकै सेनापति सशस्त्र प्रहरीका आइजीपी खनालसहित सुरक्षा अधिकृतहरुसँग पुग्दैछन् ।
काठमाडौंबाट प्रस्थान गरेका दुवै सुरक्षा निकायका प्रमुखहरु केही बेरमा छाँगरु पुग्नेछन् । उनीहरु सैनिक विमानबाट धनगढी पुगी हेलिकोप्टर चढेर छाँगरु पुग्ने योजना बनेको बुझिएको छ ।
त्यहाँ सेनाको अस्थायी बेसक्याम्पस र सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट रहेको छ । छाँगरु पुग्ने बाटो बनिरहेकाले त्यसको समेत निरीक्षण गर्नेछन् ।
नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्शा जारी गरेपछि सरकारको निर्देशनमा दार्चुलाको छाँगरुमा सेना र प्रहरी पुगेका हुन् ।
यसअघि छाँगरु पुग्न भारतको मार्ग प्रयोग गर्नुपर्दथ्यो । अब नेपालकै भुभाग भएर पुग्न सकिने गरी बाटो बनाउने क्रम तिव्र गतिमा चलेको छ ।