Logo
५ आश्विन २०८१, शनिबार
(June 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजेट असन्तुलित भएको भन्दै सत्तारुढ दलबाटै सरकारको कडा आलोचना

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले आगामी आर्थिक वर्षको बजेट विनियोजन सन्तुलित नभएको र देश निर्माणमा योगदान पुर्‍याउने नेताहरुलाई अपमान गरेको बताएका छन्।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफल गर्दै सांस्कृतिक रुपान्तरणको कुनै पनि कार्यक्रम बजेटमा नआएको र देशको परिवर्तनका लागि लडेका नेताहरुको स्मृतिमा सञ्चालन गरेका कार्यक्रमलाई बजेट नदिएर नेताहरुको अपमान गरेको बताए।

एक प्रदेश एक पर्यटकीय गन्तव्य बनाउँछौं भनेर नीति तथा कार्यक्रम आएको तर बजेटमा कुनै पनि प्रदेशमा पर्यटकीय गन्तव्य तोकेर बजेट नछुट्याइएको उनको गुनासो छ।

सहिद गंगालाल र नेपाली कम्युनिष्ट आन्दोलनका पुष्पलालको जन्मस्थल रामेछापको भगेरीमा बनाउन लागेको स्मृति पार्क र विपी कोइरालाको पुर्ख्यौली थलो सिन्धुलीको दुम्जामा पनि स्मृति पार्क बनाउन भनेर सुरु गरिएको छ। तर ती दुवै योजनामा यसपटक बजेट नछुट्याइएको भन्दै उनले असन्तुष्टी ब्यक्त गरे।

उनले ‘बजेटको सुरुमा नेताहरुको सम्मान गर्छु भन्ने तर तिनै नेताहरुको सम्मानमा सञ्चालन गरिएको कार्यक्रमहरु रोकेर अपमान गरिएको छ’ भने।

अर्थमन्त्रीका रूपमा डा. युवराज खतिवडा आएपछि पुष्पलाल स्मृति प्रतिष्ठान, विपी स्मृति प्रतिष्ठान, गणेशमान स्मृति प्रतिष्ठान, मनमोहन स्मृति प्रतिष्ठान लगायतका प्रतिष्ठानले गरेका राम्रा कामहरु बन्द गरिएको बताए।

‘त्यहाँ अनियमितता भएका छन भने छानबिन गर्नुपर्‍यो। त्यहाँ अनियमितता भएको छ भने नियन्त्रण गर्नुपर्‍यो। होइन भने ती नेता, जसका नेता जुन नेताका विचारले आज मुलुकमा परिवर्तन ल्याएको छ जुन नेताले निर्माण गरेको संगठनको बलमा आज हामी सत्तामा छौं, मन्त्री छौं प्रधानमन्त्री छौं, ती नेतालाई अपमान गर्ने काम भएको छ,’ उनले भने।

प्रकाशित मिति: Jun 16, 2020

प्रतिक्रिया दिनुहोस्