पीडितको उजुरी नपरेपछि छुटे यौन दुर्व्यवहारका आरोपी
महिला कामदारमाथि यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका सुनसरी दुहबीस्थित पशुपति सिन प्याक इन्ड्रस्टिजका प्रडक्सन इञ्चार्ज पीडितको उजुरी नपरेपछि छुटेका छन् ।रात्रीकालीन ड्युटीमा खटिएका महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका २४ वर्षका पवन शर्मा (जनगिर) पक्राउ परेको केही घण्टापछि छुटेका हुन् ।
पाँचजना महिला कामदारको मौखिक उजुरीपछि पक्राउ गरेर ल्याए पनि लिखित जाहेरी दरखास्त नआएपछि छाडिएको इलाका प्रहरी कार्यालय कार्यालय दुहबीका प्रहरी निरिक्षक प्रवीण कार्कीले जानकारी दिए ।
‘उहाँहरुबाट जाहेरी परेन, जाहेरी नपरेपछि थुनामा राख्न मिलेन’ कार्कीले भने ‘ दुर्व्यवहार गर्नेलाई उद्योगले कामबाट निकाल्ने सहमति गरेपछि नआएको भन्ने सुनेँ ।’
जागिर जाने डरले दिएनन् जाहेरी
शर्मा पशुपतिको सिल प्याक इन्ड्रष्टिजका प्रडक्सन इञ्चार्ज हुन् । उनलाई मुद्दा नचलाउन प्रहरीमाथि दबाब थियो ।
उद्योग सञ्चालकले दुर्व्यवहार गरेको उजुरी दिए कामदारलाई निकाल्ने चेतावनीपछि महिलापछि हटेको स्रोत बताउँछन् । एक पटकलाई माफी दिन र उजुरी गरे जागिरबाट निकाल्ने चेतावनी दिएपछि पीडित महिलाहरु पछि हटेका हुन् ।
‘प्रहरी पनि उद्योगीसँग मिलेका छन्’ उद्योगका एक कर्मचारीले भने ‘हिजो जागिर जाने डरमा दुर्व्यवहारका विरुद्ध बोलेनन्, बोल्दा निकाल्ने धम्की आएपछि चुपचाप बसे ।’