पर्वतकाे कुश्मा-दुर्लुङमा पहिरो : मृत्यु हुनेको संख्या ५ पुग्यो [स्थलगत भिडियो सहित]
गण्डकी प्रदेश स्थित पर्वतकाे कुश्मा नगरपालिका दुर्लुङमा हिजाे शनिबार राती पहिराे गएको छ । पहिराेले दुई वटा घर बगाउँदा हालसम्म ५ जनाकाे शव भेटिएको छ भने बेपत्ता खाेजी कार्य जारी रहेको स्थानीय प्रहरीले जानकारी दिएका छन् ।
पहिराेले दर्जनाैं घर जाेखिममा परेका छन्। आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो । पहिरो गएको क्षेत्रमा शनिबार भारी वर्षा भएको थियो ।
जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले थप दुई जनाको शव भेटिएको बताए । मृत्यु हुनेमा ५५ वर्षीय तुलबहादुर थापा, ५१ वर्षीय मिनकुमारी थापा, ८ वर्षीया विवसा थापा, ३० वर्षीया दिपा थापा र ३५ वर्षीया कमला बिक छन् ।
घटनामा थप चार जना बेपत्ता छन् । बेपत्ता हुनेमा १४ वर्षीय सम्राट थापा, १६ वर्षीय विवेक थापा, १३ वर्षीय जेनिस बिक र ७ वर्षीय प्रनिस बिक छन् ।
बेपत्ताकाे खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको छ । सशस्त्र प्रहरी बलको २५ नम्बर चण्डिका गणबाट सशस्त्र प्रहरी निरीक्षक शुसान्त थापाको टोली घटनास्थलमा छ ।
स्थलगत भिडियो :