Logo
२४ कार्तिक २०८१, शनिबार
(June 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलन चर्किएपछि संघीय सरकारद्वारा ८ अर्ब ३९ करोड खर्च भएको विवरण सार्वजनिक

संघीय सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा झण्डै साढे ८ अर्ब रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडा र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संसदमा कोरोना रोकथाम र नियन्त्रणको लागि १० अर्ब रुपैयाँ खर्च भएको जानकारी दिएपछि सांसदहरुले खर्चको विवरण माग गरेका थिए ।

१० अर्ब रुपैयाँ कहाँ गयो भनेर अहिले सडकमा पनि आन्दोलन भइरहेको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खर्च गरेको भनेको १० अर्बको विवरण सार्वजनिक गर्न माग गर्दै आन्दोलन चर्किएसँगै सरकारले शनिबार खर्चको फाँटवारी विवरण सार्वजनिक गरेको छ ।

कोरोना नियन्त्रणका लागि अहिलेसम्म १० अर्ब खर्च भयो भनेर सरकारले जानकारी गराएसँगै सदनदेखि सडकसम्म त्यसको विवरण मागिएको थियो ।

कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्देशनमा सार्वजनिक गरिएको विवरणअनुसार अहिलेसम्म तीनै तहमा गरी जम्मा ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको छ ।

अहिलेसम्म संघीय सञ्चित कोषबाट विभिन्न मन्त्रालयले जम्मा ४ अर्ब १० करोड ५५ लाख ६ हजार रुपैयाँ खर्च गरेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि रक्षा मन्त्रालयमार्फत सबैभन्दा बढी २ अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च भएको छ ।

त्यस्तै स्वास्थ्य मन्त्रालयमार्फत एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार ंरुपैयाँ खर्च भएको छ । त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयमार्फत् ५ करोड २० लाख रुपैयाँ खर्च भएको छ ।

त्यसैगरी सात वटै प्रदेशले अहिलेसम्म कोरोना रोकथाम र नियन्त्रणका लागि एक अर्ब ३० करोड ४ लाख ९९ हजार खर्च भएको छ ।

प्रदेशतर्फ सबैभन्दा बढी सुदूरपश्चिममा ३६ करोड ४८ लाख ७० हजार खर्च भएको छ भने प्रदेश नम्बरमा ५ सबैभन्दा कम ७ करोड ७९ लाख ३० हजार खर्च भएको छ ।

त्यसैगरी स्थानीय तहले २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार खर्च गरेको सरकारले जनाएको छ ।

त्यस्तै औषधि र स्वास्थ्य सामग्रीमा ३ अर्ब ९० करोड ८८ लाख, स्वास्थ्य पूर्वाधारमा एक अर्ब १२ करोड ५० लाख, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार, क्वारेन्टाइन व्यवस्थापनमा १३ करोड ५५ लाख ९८ हजार र अन्य शीर्षकमा ४० करोड १५ लाख ९ हजार रुपैयाँ निकासा भएको सरकारले जनाएको छ ।

यसअघि संसद्मा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा तीनवटै सरकारका तर्फबाट ९ अर्ब ८७ करोड खर्च भएको जानकारी दिएका थिए ।

हेर्नुहोस् कहाँ भयो कति खर्च : 

प्रकाशित मिति: Jun 13, 2020

प्रतिक्रिया दिनुहोस्