नेपालमै कोरोनाको खोप तयार : विश्व स्वास्थ्य सङ्गठनले थप अनुसन्धानमा सहयोग गर्ने
कोभिड-१९ विरुद्धको खोप अध्ययनमा यतिबेला विश्वका वैज्ञानिक जुटेका छन् । जडीबुटीको खानी नेपालबाट पनि महामारीविरुद्धको खोप अध्ययनमा डा. ललितकुमार लाल दास तीन महिनादेखि जुट्नुभएको छ ।
विश्वव्यापी रूपमा कोरोना महामारी बढ्दै गएपछि डा. दासले चैतबाट नेपालमा पाइने जडीबुटी प्रयोग गरी खोप अध्ययन थाल्नुभएको हो ।
हेटौँडा क्याम्पसको प्रयोगशालामा खोप अध्ययन गरिरहनुभएका डा. दासले भन्नुभयो, “कोरोना भाइरसविरुद्ध केही एन्टिअक्सिडेन्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडीबुटी लिएर शोध गरी खोप तयार गरेको छु । ”
उहाँले कोरोनाको सङ्कटमा विश्व फसिरहेको बेला योगदान गर्नुपर्छ भनेर थालेको अनुसन्धानमा सफलता पाएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “प्रयोगशालाको काम पूरा भएको छ, मैले गरेको खोज र अनुसन्धान विश्वविद्यालय र नेपाल सरकारको सम्पत्ति भइसकेको छ । अब थप अनुसन्धान राज्यको हो । ”
उहाँले आफ्नो अनुसन्धानको परीक्षण कोरोना सङ्क्रमितमा गर्न बाँकी रहेकाले त्यो परीक्षणका लागि सरकारसँग आग्रहसमेत गर्नुभयो ।
वन विज्ञान अध्ययन संस्थानअन्तर्गत हेटौँडा क्याम्पसका सहायक प्राध्यापक डा. दासले जडीबुटीको प्रयोग गरी खोप तयार पार्नुभएको हो ।
सुरुका दिनमा हर्बल सेनिटाइजरको अध्ययन अनुसन्धान र उत्पादन गर्नुभएका उहाँले कोरोना प्रतिरोधी क्षमता बढाउने खोपको समेत विकास गर्नुभएको छ ।
कोरोना भाइरसविरुद्धको दुई प्रकारको खोप तयार पार्नुभएका डा. दासको अनुसन्धानलाई विश्व स्वास्थ्य सङ्गठनले चासो राखेर छलफलसमेत गरेको छ ।
नेपालसहित विश्वका ७३ देशका अनुसन्धानकर्ता र डब्ल्यूएचओका अनुसन्धान अधिकारीसँग डा. दासले मङ्गलबार भर्चुअल छलफल गर्नुभएको थियो ।
डा. दासले विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलअनुसार काम भए नभएको, खोप तयार गर्नसक्ने क्षमता, कतिलाई प्रभावित गर्न सकिने, कति प्रगति भयो र सङ्गठनसँगको अपेक्षाका बारेमा छलफलमा भएको जानकारी दिनुभयो ।
अनुसन्धानलाई निरन्तरता दिन, देशको स्रोत प्रयोग गर्न र समस्या भए राख्नसमेत डब्ल्यूएचओका अनुसन्धान अधिकारीले भनेको डा. दासले जानकारी दिनुभयो ।
डब्ल्यूएचओले कोरोनाविरुद्धको खोपको खोजी र अनुसन्धानका लागि उत्प्रेरित गरिरहेको छ । सोही क्रममा डा. दासको अनुसन्धान अवधारणापत्रलाई डब्ल्यूएचओमा पठाइएको थियो ।
डा. दासले कोरोना भाइरसविरुद्धको खोपलाई एस १, एस २ र एस ३ सङ्केत दिनुभएको छ । यस्तै, कोरोना प्रतिरोधी क्षमता बढाउने अर्को खोपलाई एस ४, एस ५, एस ६, एस ७, एस ८ र एस ९ सङ्केत दिइएको छ ।
डा. दासको अनुसन्धानलाई लिएर विश्व स्वास्थ्य सङ्गठनका अनुसन्धान अधिकारीसँग अर्को बैठक असार २ गतेका लागि तय भएको छ ।
हेटौँडा क्याम्पसका उपप्राध्यापक दामोदर गैरेले भन्नुभयो, “प्रयोगशालामा उत्पादित औषधि एवं खोप विवरण डब्ल्यूएचओमा पठाइएका छौं । ”
उपप्राध्यापक दामोदर गैरेका अनुसार गुर्जो, निमलगायतका जडीबुटीहरूको प्रयोग गरी इन्जाइमयुक्त खोप तयार पारिएको छ । खोपले कोरोना भाइरसमा भएको बोसोयुक्त तìव नष्ट गर्न सहयोग गर्ने छ ।
उहाँका अनुसार, एन्टी अक्सिडेन्टयुक्त कागती, बेसारलगायत फलफूलको प्रयोग गरी कोरोना प्रतिरोधी क्षमता बढाउने खोप तयार गरिएको छ ।
डा. दासको अनुसन्धानलाई लिएर बाग्मती प्रदेश सरकारले चासो दिँदै सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पदाधिकारीसहित प्रदेशका सामाजिक विकास मन्त्रालयले छलफलसमेत आयोजना गरेको छ ।
खोप औषधिको अनुसन्धान, विकास र उत्पादनका लागि परिषद्बाट स्वीकृत लिनुपर्ने हुन्छ । बाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका कोभिड-१९ का प्रवक्ता पुरुषोत्तमराज सेढाईंले डा. दासको अनुसन्धानलाई संस्थागत गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।