Logo
४ आश्विन २०८१, शुक्रबार
(May 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नो पार्टीको निर्णयलाई जथाभावी व्याख्या नगर्न कांग्रेसको चेतावनी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो पार्टीको निर्णय र धारणालाई जथाभावी व्याख्या नगर्न चेतावनी दिएको छ।

निशान छाप संशोधन गर्ने विषयलाई केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय गराउने पार्टीको धारणाप्रति अनावश्यक व्याख्या गरिएको भन्दै प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका हुन्।

उनले शुक्रबार दिउँसो पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर सत्तारुढ नेकपाका नेताहरु र मुख्यमन्त्रीबाट समेत कांग्रेसको निर्णयप्रति गलत व्याख्या गरिएको दाबी गरेका छन्।

शर्माले भने, ‘सत्तारुढका नेता र मुख्यमन्त्रीले बोलेको कुरामा हाम्रो ध्यानाकर्षण भएको छ। कांग्रेसले कसैलाई सहायक प्रवक्ता नियुक्त गरेको छैन। पार्टी कार्यालयबाट प्रवक्ताले जे बोलेको हो त्यही नै हाम्रो आधिकारिक धारणा हो। कांग्रेसको धारणालाई गलत रुपमा व्याख्या नगरियोस्।’

उनले बिहीबारको कार्यसूचीबाट संविधान संशोधन प्रस्ताव हटेको विषयलाई कांग्रेससँग जोड्नु गलत भएको टिप्पणी गरे।

उनले प्रश्न गरे, ‘कार्यसूचीमा राख्दा कांग्रेसलाई सोध्नु नपर्ने, हटाउँदा दोष दिने?’ शर्माले नेपालको कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छ, भूमि फिर्ता हुनुपर्छ भन्नेमा कांग्रेस प्रष्ट रहेको उल्लेख गरे।

कांग्रेसले सरकारलाई कोरोना नियन्त्रण गर्न सरकार असफल आरोपसमेत लगाएको छ। ‘राहत, वितरण, विदेशमा रहेकाको उद्धार, सीमामा रहेकालाई भित्र ल्याउने विषयमा सरकार कार्यक्रमविहीन भएको छ। भूमि फिर्ता ल्याउने विषयमा सरकार प्रपोगाण्डामा लागेको छ’, शर्माले भने।

उनले कांग्रेस उग्र अभिव्यक्तिमा होइन, कामको पक्षमा रहेको उल्लेख गरे।

‘सर्वदलीय बैठकमा राखिएको धारणा राखिएको छ। जसलाई कांग्रेसले केन्द्रीय कार्यसमितिबाट पारित गर्ने निर्णय गरिसकेको छ। कांग्रेसले शनिबार १ बजे बैठक बोलाउने निर्णय गरिसकेको छ’, शर्माले भने।

प्रकाशित मिति: May 28, 2020

प्रतिक्रिया दिनुहोस्