Logo
४ आश्विन २०८१, शुक्रबार
(May 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशमा अलपत्रको उद्दार गर्दै सरकार : जिम्मा सेनालाई दिने तयारी

कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउन सरकारले गृहकार्य सुरु गरेको छ ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समन्वय उच्च स्तरीय समितिले विदेशमा अलपत्र परेका र स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउने सम्बन्धमा मोडालिटी तयार गर्न छलफल सुरु गरेको हो ।
विदेशमा अलपत्र परेका नेपालीहरु र क्वारेन्टाइनको मापदण्डका विषयमा छलफल गरी कार्ययोजना तयार गर्न मंगलबार समितिको बैठक सिंहदरबारमा बसेको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समन्वय उच्च स्तरीय समितिका सचिव समेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले भारत तथा तेस्रो मुलुकमा रहेका नेपालीहरुलाई ल्याउने कार्ययोजना तयार गर्ने विषयमा छलफल भएको बताए ।
समितिको बैठकमा सातवटै प्रदेशसँग समन्वय गर्ने संघीय मन्त्रीहरु लगायतको विचार आइसकेकाले व्यवस्थित तरिकाले कसरी ल्याउन सकिन्छ भन्ने विषयमा कार्ययोजना तयार गर्न लागिएको उनले बताए ।

उनले विदेशबाट विदेशबाट ल्याउने कामलाई व्यवस्थित गर्दै संक्रमण फौलिन नदिने गरी क्रमशः ल्याउने योजना तयारीको चरणमा रहेको समेत जानकारी दिए । समितिको बैठकमा प्रदेश र स्थानीय तहमा बनेका क्वारेन्टाइनलाई तेकिएको मापदण्ड अनुसार व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको सचिव विडारीले बताए ।

क्वारेनटाइनमा रहनेहरुको सुरक्षाको व्यवस्था, तथ्याङ्क राख्ने लगायतका काम नेपाली सेनाको उपस्थितिमा स्वास्थ्यकर्मीको अगुवाईमा हुने गरी कार्ययोजना तयार गर्न लागिएको उनले बताए ।
यस्तै क्वारेन्टाइनमा बस्नेहरुको बन्दोबस्तिको व्यवस्था, खानपिनको व्यवस्थामा संघीय सरकारको आर्थिक सहयोग हुने र सम्बन्धित स्थानीय तहले जिम्मा लिने गरी व्यवस्थापन गर्ने किसिमको कार्ययोजना आउने छ ।

नेपालीहरुको गन्तव्य मुलुकहरुमा ठूला परियोजनाहरुको काम धमाधम स्थगित हुनु, होटल, पर्यटनहरु प्रभावित हुँदा नेपालीहरुको रोजगारी अप्ठ्यारोमा परेको छ । कोरोनाका कारण नेपाली कामदारले रोजगारी पाइरहेका होटल, रेष्टुरेण्ट, सुरक्षा गार्ड, ठूला महल एवं अन्य सेवा क्षेत्रको व्यापार प्राभिवत भएकाले विदेशमा रहेका नेपालीको रोजगारी समेत संकटमा परेको वैदेशिक रोजगार व्यवसायी संघले गरेको हालैको अध्ययनमा देखाएको छ ।

नेपाली कामदारका प्रमुख श्रम गन्तव्य कच्चा तेलमा आश्रित साउदी अरब, यूएई, कतार, ओमान, कुवेत, बहराइन तथा एशिया प्यासिफिक क्षेत्रका मलेसिया, जापान तथा दक्षिण कोरिया कोरोनाका कारण प्रभावित भएको र यि देशमा करीव ३० लाख नेपाली नागरिक कार्यरत छन् ।

साउदी अरेवियाले आफ्नो गिर्दो अर्थतन्त्रलाई टिकाई राख्न ५ प्रतिशतमा रहेको भ्याटलाई वृद्धि गरि १५ प्रतिशतमा पु¥याएको छ भने सरकारी कर्मचारीहरुको सुविधा पनि कटौती गरि सकेको छ । खाडीको सवै भन्दा ठूलो अर्थतन्त्र साउदी अरबले गरेको भ्याट वृद्धि, ठुला परियोजना स्थगित र कर्मचारीको समेत सुविधामा कटौती गरेको घटनाले अन्य देशहरुलाई पनि नकारात्मक रुपमा प्रभाव पार्ने देखिएको छ ।
अध्ययन अनुसार लकडाउन लगत्तै ६ लाखको हाराहारीमा नेपालीहरु स्वोदेश फर्कने अनुमान छ । ‘भिसाको समयावधि समाप्त भएर स्वदेश फर्कने श्रमिकको संख्या करिब ६० प्रतिशत रहेको छ भने कोरोना भाइरस महामारीको कारणले रोजगारदाता कम्पनी बन्द करिब २० देखि २५ प्रतिशत नेपाल फर्कन चाहन्छन ।,’ अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

अध्ययन अनुसार कामको आधारमा निर्माण क्षेत्रमा २१.१ प्रतिशत, उद्योगमा १७.३ प्रतिशत, होटलमा ९.३ प्रतिशत, कार्पेन्टरमा ८.३ प्रतिशत र सेक्युरिटी गार्डका लागि ७ प्रतिशत, क्लिनर, घरायसी कामदारको लागि १६.६ प्रतिशत छन । श्रममन्त्रालयका अनुसार ०७६ फागुन महीनासम्म ४२ लाख २५ हजार ७८१ पुरुष र २ लाख ४० हजार ०८४ महिला गरी ४४ लाख ६५ हजार ८६५ जनालाई श्रम स्वीकृती दिएको छ ।

प्रकाशित मिति: May 19, 2020

प्रतिक्रिया दिनुहोस्