भारत समेत विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काइने, क्वारेन्टाइनमा राखेर मात्र घरसम्म पठाइने
संघीय सरकारले भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरुको उद्दार गर्ने तयारी गरेको छ । प्रधानमन्त्री सहमत भए आवश्यक तयारी गरेर आफ्ना नागरिकको उद्दार गर्ने समितिको तयारी छ ।
कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा पनि यसबारे सकारात्मक छलफल भएको छ । उच्चस्तरीय समितिमा सचिवस्तरीय कार्यदलले हरेक दिन स्थलमार्ग अर्थात भारतबाट तीन हजार र हवाई मार्गबाट तीन हजार ल्याउने प्रस्ताव पेश गरेको छ ।
एक मन्त्रीका अनुसार यसबारे बाँकी निर्णय प्रधानमन्त्रीले लिनेछन् । यसअघि पनि विदेशमा रहेका नेपालीहरुको उद्दारबारे छलफल गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका थिए ।
परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार तत्काल उद्दार गर्नुपर्नेहरुको संख्या केही लाख हुनेछ । यसरी उद्दार गरेर ल्याइनेहरुलाई केहीदिन काठमाडौं र पोखरा र होटलमा क्वारेन्टाइन गरिनेछ । र, यसको खर्च क्वारेन्टाइनमा बस्ने व्यक्ति आफैंले व्यहोर्नुपर्ने बताइएको छ ।
केही दिनको क्वारेन्टाइनपछि परीक्षण गरेर सम्बन्धित स्थानीय तहमा पठाइनेछ । स्थानीय तहमा केही दिन क्वारेन्टाइनमा बसेपछि पुनः परीक्षण गरेर मात्र घर जान दिइनेछ ।