सुनसरीका १५० सक्रिय पत्रकारहरुको निःशुल्क बिमा
प्रेस युनियन सुनसरीले जिल्लामा सक्रिय सबै पत्रकारको निःशुल्क बिमा गरेको छ। कोभिड–१९ को समयमा जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका नेपाल पत्रकार महासंघमा आबध्द र अन्य सक्रिय गरेर १५० जना पत्रकारको निःशुल्क बिमा भएको छ।
प्रेस युनियन सुनसरी र आईएमई जनरल इन्सुरेन्सबीच सम्झौता भएको छ। सम्झौतामा युनियनका तर्फबाट अध्यक्ष पवन अधिकारी तथा इन्सुरेन्सका तर्फबाट प्रदेश संयोजक विमलकुमार न्जिततकारले हस्ताक्षर गरेका छन्।
बिमा रकम प्रतिपत्रकार १ लाख रहने सम्झौतामा उल्लेख छ। हस्ताक्षर कार्यक्रममा कम्पनीका इटहरीस्थित कार्यालयका म्यानेजर भोजराज अधिकारी, विराटनगरका म्यानेजर सुनिल ठाकुर तथा नेपाल प्रत्रकार महासंघ प्रदेश १ समितिका अध्यक्ष बिक्रम लुइटेल तथा महासचिव विवेक गौतम लगायतको उपस्थिति थियो।
सम्झौताअनुसार कोभिड–१९ को पीसीआर जाँचमा पोजेटिभ देखिएका पत्रकार बिमा रकमका लागि योग्य हुनेछन्। विमाको अवधि एक वर्षको छ। इन्सुरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत पत्रकारकाे बिमा गरेको हो।