Logo
३० कार्तिक २०८१, शुक्रबार
(May 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वराजा-रानीको झापाबाट काठमाडौं आउने सवारी पास गृह मन्त्रालयको आदेशपछि रद्द

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह काठमाडौँ आउनका लागि झापा जिल्ला प्रशासनले बिहीबार जारी गरेको सवारी पास केही घण्टामै खारेज गरेको छ। गृह मन्त्रालयको आदेशपछि उक्त पास रद्द गरिएको बताइएको छ ।

पूर्व राजा शाहका प्रतिनिधि सवारी पास लिनका लागि बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए।  झापाका जिल्ला प्रशासन प्रमुख उदयबहादुर रानामगरले सवारी पास खारेज गरिएको पुष्टि गरे।

प्रशासनले तत्कालै सवारी पास जारी गरेको थियो। त्यसको केही घण्टामै प्रशासनले सवारी पास खारेज गरिएको जानकारी गराएको थियो। गृह मन्त्रालयको आदेशमा झापा जिल्ला प्रशासन कार्यालयले पूर्वराजारानीको सवारी पास रद्द गरेको हो।

गृह मन्त्रालयल‍े सोमबार एक जिल्लाबाट अर्को जिल्ला जान जारी गरिएका सम्पूर्ण सवारी पास रद्द गर्ने निर्णय गरेको थियो। यो निर्णय बिहीबारदेखि कार्यान्वयनमा आएको छ।

बिहीबार नै गृह मन्त्रालयले एउटै जिल्लाभित्र पनि एक ठाउँबाट अर्को ठाउँ जान जारी गरिएका सबै सवारी पास रद्द गर्ने निर्णय गरेको छ।

पूर्व राजा ज्ञानेन्द्र शाह लकडाउन सुरु हुनुअगावै पत्नी कोमलसहित झापा पुगेका थिए। झापामा रहेको आफ्नो हिमालय चिया बगानमा शाह दम्पती बसिरहेका थिए।

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले लकडाउनलाई कडाइ गरिरहेको छ। बाहिरबाट उपत्यका प्रवेश गरेकामा संक्रमण देखिएपछि प्रशासनले थप कडाइ गरेको छ।

त्यसअघि काठमाडौं उपत्यकामा व्यवहारत: लकडाउन केही खुकुलो बनाइएको थियो।

प्रकाशित मिति: May 14, 2020

प्रतिक्रिया दिनुहोस्