Logo
३० कार्तिक २०८१, शुक्रबार
(May 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा लकडाउन झनै कडा गर्ने गृहको निर्णय, बिना आरडीटी परीक्षणको प्रवेश निशेध

अब र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणविना कसैलाई पनि राजधानी प्रवेश गर्न नदिने भएको छ ।

सिंहदरवार स्थित गृहमन्त्रालयमा बिहीवार बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले सबै नाकाबाट काठमाडौं प्रवेश गर्नेहरूको अनिवार्य आरडीटी परीक्षण गर्ने निर्णय गरेको हो ।

बाहिरी जिल्लीबाट राजधानी भित्रिएकाहरूमा कोरोना पोजेटिभ पाइन थालेपछि सरकारले त्यसमा कडाइ गर्नुका साथै अत्यावश्यक कामले राजधानी प्रवेश गर्नेहरूको परीक्षण गर्ने निर्णय गरेको हो ।

यसका साथै राहत वितरणलाई पनि व्यवस्थित बनाउने निर्णय बैठकले गरेको छ । यसैबीच उपत्यकाका तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, मेयर, उपत्यकाका डीआईजी, महानगरीय ट्राफिक महाशाखाका एसएसपी सहितको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा उपत्यकाभित्र लकडाउन कडा र काठमाडौं भित्रिने नाकामा समेत कडाइ गर्नुपर्ने माग मेयरहरुले राखेका थिए ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार काठमाडौं भित्रिनेको स्वास्थ्य परीक्षण, स्थानीय तहको समन्वयमा मात्रै राहत वितरण गर्नुपर्नेमा पनि एकमत भएको छ ।

यस्तै सरकारले यसअघि विभिन्न ४२ क्षेत्र खोल्ने निर्णयबारे समेत समीक्षा भएको थियो । गृहमन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले निर्णय केही समयपछि सार्वजनिक गरिने बताए ।

बैठकमा सहभागी एकजनाका अनुसार काठमाडौंमा लकडाउन खुकुलो पारे परिस्थिति नियन्त्रण बाहिर जानसक्ने चिन्ता सबैले व्यक्त गरेका थिए ।

गृहले यसअघि नै एक जिल्लाबाट अर्को जिल्ला जाने पास रद्द गरिसकेको छ । आजबाट मात्रै काठमाडौंको लकडाउनमा कडाइ गरिएको छ ।

सञ्चारकर्मीलाई सूचना विभागको पास अनिवार्य गरिएको छ । लकडाउनको पालना नगर्नेलाई प्रहरीले होल्ड समेत गर्न थालेको छ । उपत्यकामा ९ हजार नेपाल प्रहरी परिचालित छन् ।

प्रकाशित मिति: May 14, 2020

प्रतिक्रिया दिनुहोस्