भारतीय राजदूतलाई बोलाएर बुझाएको कुटनैतिक नोट चीनलाई भने नेपाली राजदूत मार्फत बुझाईँदै
लिपुलेक बिवादबारे नेपालले चीनलाई पनि कुटनैतिक नोट बुझाउने भएको छ ।
यसअघी नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरेको भन्दै भारतीय राजदूतलाई पनि कूटनीतिक नोट बुझाएको थियोे ।
नेपाल सरकारले चीनलाई आफ्नो स्थिति जानकारी गराउने तयारी गरेको हो । भारतीय राजदूतलाई बोलाएर बुझाएको उक्त कुटनैतिक नोट चीनलाई भने नेपाली राजदूत मार्फत बुझाईने सरकारको तयारी रहेको छ ।
भारतसँग असन्तुष्टि जनाइसकेको नेपालले चीनलाई पनि आफ्नो स्थिति जानकारी गराउनु आवश्यक ठानेर नोट बुझाउन लागेको उच्च स्रोतले बतायो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा पछिल्लो घटनाक्रमबारे जानकारी गराएका थिए ।
बैठकमा सहभागी एकजना मन्त्रीका अनुसार प्रधानमन्त्रीको परामर्शमा परराष्ट्रले चीनको बेजिङ्ग स्थित नेपाली राजदूत मार्फत उक्त नोट बुझाउन लागिएको हो ।
बैठकमा परराष्ट्र मन्त्रीले चीनलाई समेत राजदूत महेन्द्रबहादुर पाण्डेमार्फत कूटनीतिक नोट दिने तयारी भएको जानकारी दिएका थिए ।
उच्च श्रोतका अनुसार चीनका लागि नेपाली राजदूतले सम्भवतः बुधबार बेइजिङलाई स्थितिबारे अवगत गराउँदै कूटनीतिक नोट बुझाउनेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरिरहेको जानकारी आफूलाई सञ्चार माध्यमबाट भएको समेत मन्त्रिपरिषद् बैठकमा बताएका थिए ।
प्रमुख जिल्ला अधिकारी लगायतले यसबारे केन्द्रलाई जानकारी गराएको उनको भनाइ थियो । बैठक परराष्ट्र मन्त्रीले प्रष्टिकरण पनि दिएका थिए ।
‘विषय गम्भीर छ,’ उच्च कूटनीतिक स्रोतले भन्यो, ‘तत्काल वार्ता थालिहाल्नुपर्छ । वार्ताको टेबुलमा बसेपछि कुराकानी सुझबुझपूर्ण ढंगले अगाडि बढ्छ । छिटोभन्दा छिटो वार्ता सुरु गरौं भन्ने हो । प्रक्रिया सुरु भएपछि विश्वासको वातावरण बन्छ ।’
भारत र चीनबीच सन् २०१५ मा लिपुलेक भञ्ज्याङ हुँदै व्यापार मार्ग खोल्ने निर्णयको विरोध नेपालले यसअघि नै गरिसकेको छ ।
नेपाल भूकम्पले थलिएका बेला २०७२ जेठमा लिपुलेक भञ्ज्याङ हुँदै व्यापारिक मार्ग खोल्ने भारत र चीनबीच सम्झौता भएसँगै सडक निर्माण समेत पूरा भएको छ ।
कालापानी क्षेत्रलाई त्रिदेशीय बिन्दु मानेको चीनले समेत भारतसँग द्विपक्षीय सम्झौता गरेर नेपाललाई अलग्याएको छ ।
भारत-चीनबीच सम्झौता भएलगत्तै नेपालले चीनलाई कूटनीतिक नोट पठाएको थियो ।
अहिले नेपाली भूमि हुँदै भारतले सडक निर्माण गरेपछिको स्थितिलाई नेपालले गम्भीरतापूर्वक लिएको जानकारी स्वरुप सरकारले भारतीय राजदूत विनयमोहन क्वात्रालाई सोमबार कूटनीतिक नोट बुझाइसकेको छ ।
पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको स्थिति जानकारी गराउँदा राजदूत क्वात्राले समेत भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्ति औपचारिक रूपमा बुझाएका थिए ।
कूटनीतिक स्रोतका अनुसार नेपाल सरकारले लिपुलेकमा भारतले बनाएको सडकपछि सिर्जित समस्या समाधानका निम्ति तत्काल वार्ताको आग्रह गरिरहेको छ ।
भारतीय पक्षले भने कोरोना भाइरस संक्रमणपछि मात्र वार्ता गर्ने बताउँदै आएको छ । तत्काल टेबुलमा बस्ने हो भने यो मुद्दा छरपस्ट नहुने र समस्या समाधानका निम्ति वार्ता गरिहाल्नु उचित हुने नेपाली पक्षको राय छ ।