सुदूरपश्चिम प्रदेशमा किट अभावले कोराना परीक्षण रोकियो
सुदूरपश्चिम प्रदेशमा हुँदै आएको कोरोना भाइरसको परीक्षण बिहीबारदेखि प्रभावित बनेको छ ।
पिसिआर विधिबाट परीक्षणका लागि किट सकिएपछि शङ्कास्पद बिरामीको कोरोना परीक्षण रोकिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिएका छन् ।
“सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट पठाउने कुरो छ ।” उनले भने, “आज रातिसम्म आइपुग्ला ।”
किट अभावकै कारण धनगढीस्थित पशुपक्षी अन्वेशण प्रयोगशालामा केही समयअघि स्थापना गरिएको आरटी–पिसिआर मेशिनमार्फत हुने कोरोना परीक्षण हुँदै आएको थियो ।
“किट अभावका कारण प्रयोगशालामा ल्याइएका ५५ वटा स्वाबको जाँचसमेत हुन सकेको छैन ।” निर्देशनालयका सम्पर्क व्यक्ति जोशीले भने, “हाल सुदूरपश्चिम प्रदेशमा पिसिआर प्रविधिबाट धनगढीमा मात्रै परीक्षण हुँदै आएको छ ।”
सुदूरपश्चिम प्रदेश सरकारले यहाँको पहाडी जिल्ला बैतडी र डोटीमा समेत पिसिआर मेशिनमार्फत कोरोना जाँच गर्ने निर्णय गरेको थियो ।
“पहाडका ती दुई जिल्लामा सम्भाव्यता अध्ययनको काम सकिएको छ ।” उनले भने, “प्रदेश सरकारले त्यहाँबाट पनि जाँच गर्ने गृहकार्य गरेको छ ।”
बिहीबारसम्म सुदूरपश्चिममा दुई हजार ९२३ जनाको स्वाब परीक्षणका लागि सङ्कलन गरिएको छ । जसमा ५५ जनाको किट अभावले परीक्षण भएको छैन भने पाँचजनाको कोरोना पोजेटिभ र बाँकी सबैको नतिजा नेगेटिभ आएको थियो ।
सङ्क्रमित पाँचमध्ये चारजना निको भएर घर फर्किसकेको निर्देशनालयले जनाएको छ ।“परीक्षणका लागि यसअघि सुदूरपश्चिमा एक हजार किट केन्द्रबाट आएको थियो ।” जोशीले भने, “अहिले अरु स्वास्थ्य सामग्रीको अभाव छैन ।”
उनले मास्क, पिपिइलगायत स्वास्थ्य सामग्री मौज्दात रहेको बताए ।“१४ दिन क्वारेन्टाइन बसेपछि कोरोना जाँच गर्ने निर्देशिकामा भनिएको छ ।” उनले भने, “उनले किट नहुँदा समस्या भएको बताए ।
किट अभाव हुँदा परीक्षणदेखि नमूना सङ्कलनको कामसमेत प्रभावित बन्न पुगेको छ । पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा पिसिआर किट र आरएनए एक्पेक्सन किट आवश्यक पर्छ ।
सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा गरी पिसिआर र ¥यापिट टेष्टबाट हालसम्म १७ हजार ५२४ जनाको कोरोना परीक्षण गरिएको छ ।
सुदूरपश्चिमका नौवटै जिल्लामा स्थानीय तहले सञ्चालनमा ल्याएका ३९१ क्वारेन्टाइनमा बिहीबारसम्म तीन हजार ३७४ जना बसिरहेको निर्देशनालयले जनाएको छ ।
“क्वारेन्टाइनमा बसेकाहरुको स्वाब लिएर परीक्षण गर्न बाँकी छ ।” जोशीले भने, “पहाडी जिल्लामा क्वारेन्टाइनमा थपिने क्रम बढिरहेको छ ।”