संसद बैठक : सांसद बस्ने कुर्सीबीच साढे एक मिटरको दुरी, जेठ २ गते नीति तथा कार्यक्रम
आज अपराहन्न ४ बजेदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ । जेठ २ गते नीति तथा कार्यक्रम ल्याउने तयारी रहेको छ ।
कोरोनाभाइरसको महामारीको बीचमा संघीय संसदको बजेट अधिवेशन सुरु हुन लागेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन् ।
सांसदहरु बस्ने कुर्चीहरुबीच अन्तर राख्ने, मास्क अनिवार्य लगाउनुपर्ने, संसद भवन प्रवेश गर्नुअघि ज्वरो नाप्ने, साबुन पानीले हात धुने, बोल्ने बेला माइकलाई स्यानिटाइज गर्ने लगायतका उपाय अपनाइएको छ ।
सापकोटाले शुक्रबार बिहान पत्रकारहरुसँग कुरा गर्दै उच्च सतर्कता अपनई बैठक सञ्चालन गर्न लागिएको बताए ।
उनले बैठक कक्षभित्र दुरी कायम गर्ने सवालमा विश्व स्वास्थ्य संगठनको दिशा निर्देश, नेपाल सरकारको निर्णय र स्वास्थ्य टीमको मापदण्ड अनुसार नै बैठक बस्न लागेको बताए ।
उनले सांसदहरु बस्ने कुर्चीको दुरी कायम गर्न दायाँ र बायाँ एक मिटर ५० सेन्टिमिटर कायम गरिएको र अगाडि र पछाडि १ मिटर ३० सेन्टिमिटर कायम गरिएको बताउनुभयो ।
सभामुख सापकोटाले आजको बैठक नियमित एजेण्डाहरुको अतिरिक्त दलका नेताहरुले शुभकामना दिएपछि समाप्त हुने छ बताए ।
उनले २८ गते ११ बजे प्रतिनिधि सभाको र १ बजे राष्ट्रिय सभाको बैठक बस्ने समेत बताए । २८ गतेको बैठकमा नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धी (प्रिबजेट) प्रस्तुत गर्नेछन् ।
त्यसपछि केही समय स्थागित भएर पुनः बैठक बस्ने छ र प्रिबजेट माथि छलफल सुरु हुने छ । २९ र ३० गते सम्म छलफल चल्ने सभामुख सापकोटाले बताए ।
त्यसपछि जेठ २ गते राष्ट्रपति विद्यादेवि भण्डारीबाट नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम रहेको छ ।
जेठ ३ गते बैठक बस्ने छैन भने ४ गतेदेखि नीति तथा कार्यक्रम माथि छलफल सुरु हुने छ र छलफलमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुहुने छ ।
जेठ १३ गते अर्थमन्त्री खतिवडाले आगामि आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने संवैधानिक व्यवस्था अनुसार नै जेठ १५ गते आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुत हुने छ ।