अफ्रिकीमा सुरक्षा उपाय विफल भए कोरोनाको कारण १ लाख ९० हजारभन्दा धेरैको मृत्यु हुन सक्ने : WHO
अहिले पछिल्लो समयमा विश्वको समस्या रहेको कोरोना भाइरस रोगको बारेमा विश्व स्वास्थ्य सङ्गठनले गरेको एक अध्ययनले अफ्रिकी क्षेत्रमा अपनाइएको रोकथामको उपाय विफल भए कोराना भाइरस महामारीको पहिलो वर्षमै १ लाख ९० हजारभन्दा धेरैको मृत्यु हुन सक्ने बताएको छ ।
यो अनुमान प्रिडिक्शन मोडल र अफ्रिकाको ४७ देशमा गरिएको विश्लेषणको आधारमा तयार गरिएको हो । विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिँदै आउँदा दिनमा धेरै सङ्ख्यामा मानिसहरु अस्पताल पुग्ने र स्वास्थ्य सेवाका क्षेत्रमा अझै चुनौती थपिने बताएको छ ।
यदि अल्जेरिया, दक्षिण अफ्रिका र क्यामरुनमा रोकथामको उपायमा ध्यान नदिए त्यहाँ सबैभन्दा खतरा हुने अध्ययनले बताएको छ ।
मार्च २०२० मा गरिएको एक अध्ययनका अनुसार अफ्रिकी क्षेत्रमा औसत १० लाख मानिस बराबर मात्र नौ वटा सघन उपचार कक्ष आईसीयू वार्ड रहेको बताइएको थियो । अस्पतालले आफ्नो क्षमता बढाउनुपर्नेमा अध्ययनले सल्लाह दिएको छ ।
अफ्रिकी क्षेत्रका लागि विश्व स्वास्थ्य सङ्गठनकी क्षेत्रीय निर्देशक डाक्टर मात्शिडिसोले भनिन्, जहिलेसम्म अफ्रिकी क्षेत्रमा सरकारले सक्रिय दृष्टिकोण अपनाउँदैन तबसम्म कोभिड १९ आउँदो कैयौँ वर्षसम्म हाम्रो जीवनमा रहिरहनेछ ।
हामीलाई परीक्षण, ट्रेस, आइसोलेट र उपचारको आवश्यकता छ ।