नेकपा सचिवालय बैठकमा चर्काचर्की: प्रचण्डप्रति आक्रोश ब्यक्त गर्दै बाहिरिए प्रधानमन्त्री ओली
नेकपा केन्द्रीय सचिवालय बैठकमा दुई पक्षबीच चर्काचर्की भएको खबर छ । बैठकको सुरुवातमै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुष्टता ब्यक्त गरेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा चर्काचर्की भएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् । बैठकमा नेताहरुबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली आफ्नो शयनकक्षतर्फ लागेको बालुवाटार निकट श्रोतले जानकारी दिएको छ ।
स्रोतकाअनुसार बैठकको सुरुवातमै आज प्रधानमन्त्री ओली अर्का अध्यक्ष दाहालसँग रिसाएका थिए । उनले शनिबारको सचिवालय बैठकअनुसार नेताहरु सहमतिमा नचलेको र गुटगत भेला जारी राखेकोमा आक्रोश पोखेका थिए ।
प्रधानमन्त्री ओली एक पद एक मुख्य जिम्मेवारीको विपक्षमा रहेका छन् तर बहुमत सचिवालय सदस्यहरु त्यसको कार्यान्वयन गर्ने पक्षमा छन् ।
उनले खासगरी प्रवक्ता नारायणकाजी श्रेष्ठको घरमा अध्यक्ष दाहाल, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल र भलनाथ खनाल भेला भएको र आफूविरुद्ध पूनः मोर्चाबन्दी गरेकोमा गुनासो पोखेका थिए ।
सचिवालय बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका थिए । बिहीबार सो पार्टीको स्थायी समिति बैठक बस्दैछ ।