कोरोनाको रोकथाम र नियन्त्रणका लागि प्रधानमन्त्रीद्वारा शिखर सम्मेलनमा सहभागीता
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित एक्सन कक्षबाट असंलग्न आन्दोलन (नामं) को सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनमा सहभागी भएका छन् ।
सम्मेलनको उद्घाटन अजरबैजानका राष्ट्रपति एवं नामका अध्यक्ष इल्याम एलियेबले गरेका थिए ।
संवादमा विश्वव्यापी महामारी भइरहेको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि जारी पहल र विश्व समुदायको साझा दायित्व तथा नामको भूमिकाबारे विचारविमर्श भएको थियो ।
सो अवसरमा प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका मुख्य सल्लाहकार विष्णु रिमालसहित उच्चपदस्थ अधिकारी सहभागी थिए ।
नाम विश्वका कुनै पनि शक्ति पक्षसँग सम्लग्न भएका १२० मुलुकहरुको साझा मञ्च हो ।
संयुक्त राष्ट्र सङ्घपछि विश्वमा यो दोस्रो ठूलो राष्ट्रहरुको मञ्च मानिन्छ ।
यसको स्थापना सन् १९६१ मा भएको थियो ।
विश्वमा कोरोना सङ्कटपछि यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्कं) का शीर्ष नेताहरुको पनि भिडियो संवाद भएको थियो ।
असंलग्न राष्ट्रहरुको अनलाइन शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीको सम्बोधन :
अजरवैजानका राष्ट्रपति तथा असंलग्न आन्दोलनका अध्यक्ष महामहिम इल्हम अलियेभ,
महामहिम राष्ट्रप्रमुख तथा सरकार प्रमुखज्यूहरु,
विशिष्ट सहभागीहरु।
सर्वप्रथम समयमै हामी सबैलाई एकै ठाउँमा ल्याउन गर्नुभएको यो पहलका लागि राष्ट्रपति महामहिम श्री इल्हम अलियेभलाई धन्यवाद ज्ञापन गर्न चाहान्छु।
यहाँले COVID-19 विरुद्धको हाम्रो सामूहिक लडाइका लागि सम्पर्क समूह स्थापना गर्न पुर्याउनु भएको पहललाई नेपालले स्वागत गर्दछ।
यो महामारीले हाम्रो जीवनकालमा नभोगेको तहमा संसारलाई हल्लाएको छ। साथै, यसले हाम्रो भाग्य एकापसमा कसरी जोडिएको छ भन्ने तथ्यलाई पनि स्मरण गराएको छ।
अहिले मानवता जोखिममा छ।
झण्डै दुई लाख पचास हजार जनाको मृत्यु भइसकेको छ। हाम्रा स्वास्थ्य सुविधाहरुमा थामिनसक्नु बोझ बढेको छ। भाइरसले हाम्रो क्षमताको परीक्षण गरेको छ र हाम्रो निरीहता उदाङ्गो तुल्याएको छ।
विश्व व्यापार र भ्रमणका कडीहरु टुटेका छन्। व्यवसायहरु धरासायी भएका छन्।
रोजगारी गुमेका छन्।
शैक्षिक प्रणाली भत्केका छन् र
लाखौं मानिसहरु गरिबीमा धकेलिंदै छन्, जसले गर्दा दिगो विकासका लक्ष्य हासिल गर्ने कार्य झन् कठीन बन्दैछ।
अहिले हामी साझा तर अदृश्य शत्रुसँग लडिरहेका छौं।
यस्तो अवस्थामा, मानव जीवनको रक्षा गर्नु र मानवताको संरक्षण गर्नुभन्दा महत्वपूर्ण अर्को काम केही हुँदैन। यो सरकारहरुको सर्वोच्च कर्तव्य पनि हो।
आर्थिक क्षतिको पुर्नस्थापन गर्न सकिन्छ। प्रविधि नयाँ आविष्कार गर्न सकिन्छ। समृद्ध समाज निर्माण गर्न पनि सकिन्छ। तर खेर गएको अमूल्य मानव जीवनलाई हामी पुर्नप्राप्ति गर्न सक्दैनौं, जुन मानव पूँजी, प्रतिभा, दक्षता र विचारको पनि क्षति हो। तसर्थ, सबै कुराभन्दा पहिले मानव जीवन रक्षा गर्नुपर्छ।
मानवता जोगिनु पर्छ, भाइरस होइन। त्यसका लागि स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ।
यसलाई विचार गरेर, नेपालमा हामीले आफ्नो क्षमता भित्रका सबै राजनीतिक, आर्थिक, मानवीय र प्राविधिक स्रोतहरु यो भाइरस संक्रमण विस्तार हुन नदिनमा लगाएको छौं।
हाम्रो मुख्य जोड महामारीको रोकथाम र शमन गर्नेतर्फ छ। हामीले संघीय, प्रदेश र स्थानीय तहका सबै स्रोत र राज्य संयन्त्र यो संकटलाई संगतीपूर्ण रूपमा व्यवस्थापन र सम्बोधन गर्नमा परिचालन गरेका छौं।
हाम्रा स्वास्थ्य सुविधाको स्तरोन्नती गरेका छौं, स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहित तुल्याएका छौं र सबैको पहुँचमा स्वास्थ्य सेवा सुनिश्चित गरेका छौं। क्वारेन्टाइन र अलग्गै बस्नका लागि आवश्यक पूर्वाधार निर्माण गरेका छौं।
हामीले परीक्षण, सम्पर्क अनुगमन (contact-tracing), क्वारेन्टाइन र सामाजिक रूपमा अलग्गै रहने उपक्रमहरुको सामञ्जस्यपूर्ण प्रयोग गरेको छौं। साथसाथै, राष्ट्रव्यापी लकडाउन, अन्तर्राष्ट्रिय हवाइ उडान स्थगन, सीमापार आवतजावत नियन्त्रणजस्ता अस्थायी कदमहरु समेत लागू गरेका छौं।
मलाई यो कुरा राख्न पाउँदा खुशी लागेको छ कि नेपालमा आजसम्म कोभिड-१९ का कारण कसैको पनि मृत्यु भएको छैन ।
यद्यपि, हामीले भोग्नु परिरहेको अभूतपूर्व आर्थिक कठिनाईलाई मैले औल्याउनु नै पर्छ। पूरै अर्थतन्त्र ठप्प रहेको छ । स्पष्ट छ, साना उद्यम, किसान तथा दैनिक ज्याला कमाउनेहरुलाई सबैभन्दा बढी असर परेको छ । विप्रेषण र राजस्वका स्रोतहरु घटेका छन् । पर्यटन क्षेत्र घरासायी भएको छ । विकासको गतिका साथसाथै जनताको जिविकोपार्जनका स्रोतहरु पनि प्रभावित हुनेछन्।
हामी यी चुनौतिहरु सामना गर्न प्रतिबद्ध हुँदै गर्दा हामीलाई लाग्दछ कि यो स्तरको महामारी सामना गर्न एक मजबूत विश्वव्यापी सम्बोधनको खाँचो पर्दछ । राष्ट्रिय प्रयासहरुमा अन्तर्राष्ट्रिय सहयोगका उपायहरु परिपूरकका रुपमा रहनुपर्दछ । यसैमा संयुक्त राष्ट्र संघ तथा यसका विशिष्टकृत निकायहरुको अपरिहार्य भूमिकाको आवश्यकता पर्दछ। महामारी विरुद्धको सहयोग, सहकार्य तथा विश्वव्यापी प्रतिक्रियाका लागि यी निकायहरुलाई समर्थन गरी मजबूत तुल्याउनुपर्छ ।
मानव इतिहासको यस कठीन घडीमा विश्वलाई एकताबद्ध गर्न १२० मुलुकहरुको शक्ति समूहका रुपमा रहेको असंलग्न आन्दोलनले आफ्नो गणितीय तथा नैतिक शक्तिलाई प्रयोग गर्नुपर्छ ।
यदि विश्व एकजुट भए हामी यो लडाई जित्नेछौं । यदि विश्व विभाजित भए भाइरसले हामीलाई पराजित गर्नेछ। भाइरसलाई पराजित गर्नु बाहेक हामीसँग अरू कुनै विकल्प छैन।
यस सन्दर्भमा, म निम्न बुँदाहरु प्रकाश पार्न चाहन्छुः
पहिलो र सबैभन्दा महत्वपूर्ण भनेको यस संकटको घडीमा असंलग्न राष्ट्रहरु एकताबद्ध हुनुपर्छ र कोभिड–१९ लाई पराजित गर्न तथा शान्ति, स्थायित्व र समृद्धिको साझा आकांक्षा प्राप्तिमा सहयोग पुर्याउन बहुपक्षीयता र विश्वव्यापी सहयोगलाई समर्थन गर्नुपर्छ।
दोस्रो, असंलग्न आन्दोलनले सदस्य मुलुकहरुका सहयोगी कार्यहरुमा समन्वय गर्नुपर्दछ र विश्वव्यापी ऐक्यवद्धताको भावना अनुरूप विश्वभरिका गरीब तथा अति जोखिमयुक्त जनसंख्याको आवाजलाई एकीकृत पार्नुपर्छ।
यस सम्बन्धमा असंलग्न्न राष्ट्रहरुका आवश्यकताहरु समावेश गरी तथ्थांङ्कीय आधार निर्माण गर्न असंलग्न्न राष्ट्रहरुको टास्क फोर्स (कार्यटोली) गठनको नेपालले स्वागत गर्दछ ।
तेस्रो, विश्व सामान्य अवस्थामा फर्किने विषय सुनिश्चित गर्न असंलग्न्न राष्ट्रहरुले आफ्नो भूमिका निभाउनुपर्छ । विश्वव्यापी एकतालाई सुढृढ गर्न अनुभवको साटासाट एवं प्रविधि, औषधीजन्य सामग्री तथा उपकरणहरुको आदानप्रदानको माध्यमबाट दक्षिण-दक्षिण सहयोगलाई अभिबृद्धि गर्नुपर्छ ।
चौथो, संभावित आर्थिक मन्दीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायलाई एक बलियो पुर्नस्थापना प्याकेज प्रदान गर्ने कार्यमा असंलग्न राष्ट्रहरुले सहकार्य र वकालत गर्नुपर्छ। विश्वव्यापीरुपमा यसका प्रभावहरु पहिले नै विशाल छन् र विशेषतः अतिकम विकसित राष्ट्रहरु, भूपरिवेष्ठित राष्ट्रहरु तथा साना विकासोन्मुख टापु राष्ट्रहरुमा यसका प्रभाव असीमित छन् । यो संकटले विकासोन्मुख राष्ट्रहरुप्रतिको विद्यमान प्रतिबद्धताबाट पछि हट्ने बहाना कदापी प्रदान गर्नु हुँदैन ।
पाँचौ, असंलग्न राष्ट्रहरुले क्षेत्रीय पहलहरुलाई विश्वव्यापी प्रयासको स्तम्भका रुपमा प्रर्बद्धन गर्नुपर्छ। कोभिड-१९ ले प्रस्तुत गरेका चुनौतिहरुको समाधानार्थ उपायहरु पहिल्याउन र सहकार्यलाई प्रर्बद्धन गर्न ‘भिडियो कन्फरेन्स’ मार्फत गरिएको सार्क राष्ट्रहरुको शिखर सम्मेलनमा दक्षिण एशियाली क्षेत्रका नेताहरु एकजुट भएका थिए ।
छैठो, गरिबी, अस्वस्थता र अल्पविकसित अवस्था विरुद्धको लडाइमा सिंगो मानव समुदाय एकै स्थानमा उभिनुपर्छ । विद्रोह तथा लडाईहरुमा संलग्न हुने यो समय होइन । यसर्थ, संयुक्त राष्ट्र संघका महासचिवद्धारा विश्वव्यापी युद्धविरामका लागि गरिएको अनुरोधलाई नेपाल समर्थन गर्दछ ।
अन्त्यमा, यस महामारीले आर्थिक प्रणालीमा रहेका अपूर्णता तथा कमजोरीहरुलाई उजागर गरेको छ । आधारभूत सामाजिक सुरक्षा, स्वस्थ्य सेवा तथा शिक्षाको प्रणाली निर्माण गर्न र तिनलाई टिकाइराख्न हामीले राष्ट्रिय आर्थिक व्यवस्था र स्रोतहरुलाई पुननिर्देशित गर्नुपर्छ। यस प्रकारको संकटको सामना गर्न जनमुखी नीतिहरु प्रभावकारी हुनेछन् ।
अध्यक्ष महोदय, आफ्नो भनाईको अन्त्य गर्नुअघि, कोरोनाका कारण जीवन गुमाउनेहरुका मुलुक तथा परिवारजनमा गहिरो समवेदना व्यक्ति गर्न चाहन्छु। साथै, उपचारत सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
एकसाथ हामी पूर्वावस्थामा फर्कने छौं र अझ राम्ररी फर्कने छौं ।
यहाँहरु सबैको ध्यानाकर्षणप्रति धन्यवाद दिन चाहन्छु ।