Logo
१ मंसिर २०८१, शनिबार
(May 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिमा नाका र महत्वपूर्ण प्रतिष्ठानमा सेना परिचालन गरिने, नेपाल प्रहरी र सशस्त्र समुदायमा

संघीय सरकारले महत्वपूर्ण प्रतिष्ठान तथा सरकारी संरचनाको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई झिकेर सेनालाई जिम्मा दिने भएको छ ।

गृह मन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको सुरक्षा बैठकले सरकारी स‌ंरचना र प्रतिष्ठानमा तैनाथ जनशक्तिको विवरण पेश गर्न पनि प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिइएको छ ।

महत्वपूर्ण सरकारी भवन तथा प्रतिष्‍ठानको सुरक्षामा तैनाथ दुवै प्रहरी जनशक्तिलाई नेपाल-भारत सीमा क्षेत्रमा खटाएर सेनालाई ती स‌ंरचनाको सुरक्षामा खटाइने भएको हो ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले महत्वपूर्ण प्रतिष्ठान, सरकारी भवन/संरचना तथा विभिन्‍न क्षेत्रको सुरक्षामा खटिएका प्रहरी र सशस्त्र प्रहरीको विवरण आगामी बैठकमा पेश गर्न निर्देशन दिइएको बताए ।

चुनाव बेला जस्तै यस्ता संरचनाको सुरक्षामा खटिएका प्रहरी र सशस्त्रलाई झिकेर अस्थायी रुपमा सेनालाई खटाइने गरिएको थियो ।

आइतबारको सुरक्षा बैठकमा ४ वटा सुरक्षा निकाय, स्वास्थ्य, परराष्ट्र लगायत मन्त्रालयका उच्च अधिकारी उपस्थिती थिए ।

सेना परिचालन सम्बन्धी औपचारिक निर्णय मन्त्रिपरिषद्ले गर्ने छ भने कुन रुपमा सेनामा खटाइने भन्‍ने विषय गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गर्ने प्रवक्ता शर्माले बताए ।

गृहको यो निर्णयसँगै देशभरका कारागार, विभिन्‍न राजदूतावास, नेपालस्थित अन्य कूटनीतिक नियोग, विशिष्ट व्यक्तिहरु बस्‍ने निवास तथा कार्यालय लगायत संरचनाको सुरक्षामा अर्को व्यवस्था नभएसम्मका लागि नेपाली सेनाको जनशक्ति खटाइने भएको छ ।

दक्षिणतर्फ नेपाल-भारत १८ सय ८० किलोमिटर लम्बाईको सीमा क्षेत्रलाई कडाई गरिने छ । लकडाउन घोषणापछि सशस्त्र प्रहरीले भारतीय सीमातर्फ १२ सय १३ वटा अस्थायी चेक प्वाइन्ट खडा गरेर करिब २२ हजार जनशक्ति परिचालन गरेको छ भने नेपाल प्रहरीका ४ सय ५० वटा सीमा चौकी र अन्य अस्थायी संरचना गरी ७ हजारभन्दा बढी जनशक्ति खटिएका छन् ।

गृहको पछिल्लो निर्णयसँगै सीमा क्षेत्र आवातजावतमा थप कठाइ गर्न अन्य जिल्ला र महत्वपूर्ण भौतिक संरचनाको सुरक्षामा खटिएका जनशक्तिमा पनि सीमा केन्द्रीत गरिने छ ।

सुरक्षा निकायहरुबाट प्राप्त विवरणपछि सीमा क्षेत्रमा थप जनशक्ति परिचालनबारे थप निर्णय गरिने गृह प्रवक्ता शर्माले बताए ।

प्रकाशित मिति: May 3, 2020

प्रतिक्रिया दिनुहोस्