Logo
१ मंसिर २०८१, शनिबार
(May 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले आन्तरिक छलफल गर्नुपर्ने भएपछि नेकपा सचिवालय बैठक डेढ घण्टा पछि बस्ने

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक छलफल गर्नुपर्ने कारण देखाउँदै सत्तारुढ नेकपा केन्द्रीय सचिवालय बैठक डेढ घण्टा पर धकलेका छन्।

शनिबारको सचिवालय बैठकमा असन्तुष्ट नेताहरुले प्रधानमन्त्री ओलीले आफ्ना उत्तराधिकारीका रुपमा नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने भन्दै गरेको प्रस्ताव ‘माइन्यूट’ गर्न दबाब दिने बुझिएको छ।

उनले शनिबार अपराह्न ४ बजे निर्धारित बैठक साँझ साढे ५ बजेका लागि सारेका हुन्। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूलाई बैठक सारेको जानकारी आएको तर कारणबारे नखुलाइएको बताए।

तीन दिनअघि वैशाख १७ गते भएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस संकटपछि आफूले राजीनामा दिने र नेता गौतमलाई चुनाव लडाएर या संविधान संशोधन गरेर भए पनि प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए।

यस्तै उनले अर्का असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव पनि बैठकमा राखेका थिए। प्रधानमन्त्री ओलीको यो प्रस्ताव नेता नेपालले भने अस्वीकार गर्ने बुझिएको छ।

शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीलाई स्थायी कमिटी बैठकको मिति तय गर्ने विषयमा समेत दबाब दिने रणनीतिमा असन्तुष्ट नेताहरु छन्।

प्रधानमन्त्री ओलीको प्रस्तावको विश्लेषण र निष्कर्षका लागि ओलीसँग असन्तुष्ट नेताहरु पछिल्लाे तीन दिन लगातार एकआपसमा र आआफ्ना समूहमा बेग्लाबेग्लै र सामूहिक छलफल गरेका छन्।

उनीहरुले आज पनि छलफललाई निरन्तरता दिएका छन्। यी सबै छलफलको केन्द्रविन्दुमा नेता गौतमनै परेका छन्। नेकपा स्थायी कमिटी सदस्य एवं नेपाल समूहका नेता भीम आचार्यले प्रधानमन्त्री ओलीले गरेका प्रस्ताव कति अनकुल कति प्रतिकुल छन् भन्नेबारे निरन्तर छलफल भइरहेको बताए।

प्रकाशित मिति: May 2, 2020

प्रतिक्रिया दिनुहोस्